• २२ चैत २०८२, आइतबार

गर्मीयाममा नेपालगन्जमा लोडसेडिङ नहुने

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, चैत २१ गते । नेपालकै अत्यधिक गर्मी हुने स्थानका रूपमा परिचित नेपालगन्जमा यस पटक विद्युत् आपूर्ति अवरुद्ध नहुने नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राका अनुसार पछिल्लो चार महिनामा गरिएको प्राविधिक सुधार र संरचनागत व्यवस्थापनका कारण यस वर्ष गर्मीयाममा नेपालगन्ज क्षेत्रमा लोडसेडिङ नहुने भएको हो । 

उहाँले चार महिनामा केन्द्रले थप फिडर जडान गरेकाले यसबाट विद्युत् लोड व्यवस्थापनमा सहज भएको र आपूर्ति प्रणालीमा एकरूपता कायम भएको हुँदा आपूर्ति नियमित हुने दाबी गर्नुभयो । 

प्रमुख मिश्राका अनुसार नेपालगन्जको मुख्य समस्या ओभरलोड रहेको पाइएकाले त्यसलाई समाधान गर्न फिडर थपेर सन्तुलन मिलाइएको छ । प्राकृतिक विपत्ति जस्ता आकस्मिक अवस्थाबाहेक अन्य कारणले विद्युत् आपूर्तिमा कुनै समस्या नआउने विश्वास उहाँको छ । गर्मीका बेला अत्यधिक विद्युत् खपत हुने नेपालगन्जका उपभोक्तालाई ठुलो राहत हुने नागरिक सरोकार मञ्च नेपालगन्जका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

केन्द्रका अनुसार हाल नेपालगन्ज क्षेत्रमा करिब २२ देखि २३ मेगावाटसम्म विद्युत् खपत भइरहेको छ ।