मुसीकोट समाचारदाता
रुकुमपश्चिम, चैत २२ गते । नयाँ शैक्षिक सत्र २०८३ का लागि रुकुमपश्चिममा किताब आइपुगेका छन् । जनक शिक्षा सामग्री केन्द्रबाट अनुमतिप्राप्त व्यवसायीले जिल्लाका विभिन्न विद्यालयका लागि किताब खरिद गरेर ल्याएका हुन् । पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ रुकुमपश्चिमका अध्यक्ष कर्णबहादुर ओलीले नयाँ शैक्षिक सत्रका लागि बेलैमा किताब खरिद गरेर ल्याइसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार जनक शिक्षा सामग्री केन्द्रले पुस्तक ढुवानीका लागि फरक फरक दिनमा सप्लायर्सको सम्पर्क मिति तोकेर जिल्लामा किताब पठाएको छ ।
पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका जिल्ला सचिव शिशिर गौतमले सबै विद्यालयमा किताब पुगिसकेपछि मात्र व्यवसायीले छापाखानाबाट ढुवानी रकम पाउने बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपश्चिमका प्रमुख ताराप्रकाश पुनका अनुसार विगतका वर्षमा किताब अभाव हुने गरेको गुनासो सुनिए पनि यस वर्ष भने मागबमोजिमका किताब उपलब्ध भएका छन् । रुकुमपश्चिममा २८४ सामुदायिक विद्यालय रहेका छन् । सरकारले यी विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क किताब उपलब्ध गराउने गर्दछ ।