• २२ चैत २०८२, आइतबार

घरेलु हिंसापीडित महिलाका मुद्दा प्रहरीमै सीमित

blog

घोडाघोडी समाचारदाता

कैलाली (घोडाघोडी), चैत २२ गते । कैलारी (नाम परिवर्तन) को दाहिने हात र खुट्टाले राम्रोसँग काम गर्दैनन् । जुन दिनदेखि हात खुट्टाले काम गर्न छोडे, त्यो दिन सम्झेर अहिले पनि उहाँ झस्किनुहुन्छ । पाँच वर्षअघिको कुरा हो, घोडाघोडी नगरपालिका–१ स्थित आफ्नो घरमा उहाँ सुतिरहनुभएको थियो । ज्वरोले थला परेकी कैलारीले उठेर खाना पकाउन सक्ने कुरै थिएन । उहाँका श्रीमान्लाई त्यही कुरा उहाँमाथि जाइलाग्ने निहुँ बन्यो ।

“त्यो दिन उठेर खाना पकाइन भन्ने निहुँ झिके । मेरो कपालमा समातेर न्याके,” उहाँले भन्नुभयो, “घाँटी नै भाँचिए जस्तो भएको थियो ।”

घटनापछि उहाँलाई माइती आएर अस्पताल लगेका थिए । “मलाई नेपालगन्ज लगेर उपचार गरेपछि थाहा भयो घाँटीको नसा नै टुटेछ । त्यसकै असरले दाहिने हात र खुट्टामा असर प¥यो, राम्रोसँग काम गर्दैनन्,” उहाँले भन्नुभयो, “घाँटीमा पनि रड राखिएको छ ।”

उहाँले यसरी हिंसा सहदै आएको १२ वर्ष भयो । उहाँले धेरै पटक प्रहरीमा गए पनि न्याय पाउन नसकेपछि थप न्यायका लागि अदालत जाने विषयमा नसोचेको बताउनुभयो ।

घोडाघोडी–१ कै पार्वती बोहोरा दुई वर्षअघि श्रीमान् र सौताबाट धेरै पटक हिंसा भोगेपछि प्रहरीकोमा न्याय माग्दै जानुभयो । तिनै जनालाई राखेर प्रहरीले मिलापत्र गरिदियो तर उहाँमाथिको हिंसा केही समयलाई रोकिए पनि पछि झनै उग्ररूप लिँदै गयो । उहाँले आफूले लगाएको गहनासमेत थुतेर लगी घर निकाला गरेको सुनाउनुभयो । 

खान बस्नको समस्या भएपछि उहाँ समाजका केही महिलाको सहयोगमा प्रहरी चौकी पुग्नुभयो । “धेरै पटक न्यायका लागि प्रहरी चौकी धाएँ । मिलापत्र मात्रै गरिदियो, अहिलेसम्म मलाई नागरिकता पनि बनाइदिएका छैनन् । मलाई एक्लै घर छोडी भारत बस्छन् । मलाई खर्चपानी पनि दिँदैनन् । न मेरो नाममा सम्पत्ति छ । म घर न घाटको भाको छु,” उहाँले दुःख पोख्नुभयो ।घोडाघोडीकै २६ वर्षीय गीता (परिवर्तित नाम) यस्तै अर्को उदाहरण हो । श्रीमान् गुमाएको एक वर्ष बित्न नपाउँदै परिवारबाट हिंसा भोग्दै आउनुभएको छ । दुई सन्तानकी आमा उहाँले अहिले माइतीमा बस्नुहुन्छ ।

श्रीमान्ले आत्महत्या गरेपछि त्यसको दोष उहाँलाई थोपरेर परिवारले गर्ने दुव्र्यवहारका कारण उहाँ मानसिक रूपले विक्षिप्त बन्नुभएको छ । हिंसाकै कारण उहाँको व्यवहार र स्वभावमा परिवर्तन आएको कुराका साक्षी हुनुहुन्छ उहाँका छिमेकी जमुना र रिमा ।

उहाँहरूका अनुसार गीताले आफू अन्यायमा परेको कुरा धेरै समय कसैलाई भन्नुभएन । बल्ल बल्ल गाउँ समाज जोडेर आफूमाथि भएको अन्यायबारे कुरा राख्नुभयो । गाउँलेले सम्झाउँदा पनि उहाँमाथिको दुव्र्यवहार रोकिएन, बरू घरको कुरा गाउँलेलाई भनेर उल्टै गाली खानु प¥यो, जसले गर्दा उहाँ विक्षिप्त हुनुहुन्छ । गीता पनि विषय लिएर प्रहरी वा अदालत जाने हिम्मत गर्न त के सोच्न पनि आफूले नसक्ने उहाँ बताउनुहुन्छ । “जहाँ गए पनि के नै हुन्छ र ?,” उहाँले भन्नुभयो, “गाउँ समाज जोडी भनेर कति गाली खान्छु । कानुन र पुलिस खोज्ने हो भने झन् के के हुने हो ।”

तीन वर्षमा कैलाली प्रहरीको तथ्याङ्क हेर्दा प्रहरीले घरेलु हिंसासम्बन्धी उजुरी ६७० वटा परेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आर्थिक वर्ष २०८०/८१ मा घरेलु हिंसासम्बन्धी १५७ उजुरी परेका थिए । त्यसै गरेर आव २०८१/८२ मा बढेर २१३ उजुरी सङ्ख्या पुगेको थियो । चालु आवमा अहिलेसम्म ३०० उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले चालु आवमा २६९ वटा उजुरी मिलापत्र गरिएको बताउनुभयो । त्यस्तै २७ वटा न्यायिक निकायमा पठाएको र चार वटा उजुरी कारबाहीको प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले चालु आवमा १८ वटा पुरुषपीडित उजुरीसमेत परेको र तिनलाई पनि मिलापत्र गरिएको जानकारी दिनुभयो ।

महिला अधिकारकर्मी गोमा आचार्यले नेपालमा महिलाका लागि बनेका कानुन बलिया भए पनि कार्यान्वयन अत्यन्तै फितलो रहेको बताउनुहुन्छ ।“महिलासम्बन्धी कानुन त नेपालमा बलिया छन् । तिनको कार्यान्वयन फितलो हुँदा महिलाले न्याय पाउँदैनन्,” उहाँले भन्नुभयो ।