रमेश विश्वकर्मा
गुल्मी, चैत २२ गते। गुल्मीमा उत्कृष्ट सहकारी र कर्मचारी सम्मानित हुनुभएको छ। ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ गुल्मीको आयोजनमा भएको सहकारिताको वर्तमान समस्या र अवस्थाको बारेमा गरिएको अन्तरक्रिया कार्यक्रममा यस जिल्लाका उत्कृष्ट दुई सहकारी र दुई कर्मचारीलाई सम्मान गरिएको हो।
“उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित भएको यस कार्यक्रममा उत्कृष्ट सहकारीका रुपमा छत्रकोट गाउँपालिकास्थित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र धुर्कोट गाउँपालिकास्थित हिमचुली कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको हो। उत्कृष्ट कर्मचारीका रुपमा मुसिकोट नगरपालिकास्थित बडागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक विवेक पेमी मगर र रेसुङ्गा नगरपालिका–१ तम्घास क्याम्पसरोडस्थित लेकाली साकोसका प्रदीप पन्थी सम्मानित हुनुभयो।
सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे छलफल समेत गरिएको हो। सहकारी क्षेत्रले हाल भोगिरहेका समस्या, वित्तीय अनुशासन, सदस्यको विश्वास, पारदर्शिता तथा उत्पादनमुखी गतिविधिहरुको आवश्यकता जस्ता विषयमा छलफल भएको हो। अधिकांश वक्ताहरुले सहकारीलाई केवल बचत तथा ऋणको सीमित दायराबाट बाहिर ल्याई उत्पादन, प्रशोधन र बजारीकरणसँग जोड्न आवश्यक रहेको बताउनुभयो।
जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापाले सहकारी क्षेत्र अहिले जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो। उहाँले सहकारीहरु स्वनियमन, स्वअनुशासन र पारदर्शिताका आधारमा सञ्चालन हुनुपर्ने आजको अपरिहार्य रहेको बताउनुभयो। सहकारी अभियान अपेक्षाअनुसार अघि बढ्न नसक्नुमा केही कमजोरी स्वयं सहकारीभित्र र केही नियामक निकायको उदासीनता तथा लापरवाही रहेको उहाँको भनाइ छ।
यसैगरी, उपाध्यक्ष सोमनाथ सापकोटाले ६९ वर्ष लामो सहकारी इतिहासलाई स्मरण गर्दै अबको प्राथमिकता उद्यमशीलता र पारदर्शिता हुनुपर्ने बताउनुभयो। उहाँले “एक सहकारी, एक उत्पादन” अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा सहकारी सक्रिय हुनुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार गुल्मी जिल्लाको करिब ४० प्रतिशत जमिनमा कफी उत्पादनको सम्भावना रहे पनि त्यसतर्फ पर्याप्त ध्यान पुग्न सकेको छैन।
साथै दूध, मासु तथा पशुपालनका क्षेत्रमा पनि सहकारीमार्फत उत्पादन वृद्धि गर्न सकिने सम्भावना औंल्याउनुभयो। कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख ऋषिराम पन्थीले सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारी गराउँदै सहकारीमार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न सकिने बताउनुभयो। उहाँले श्रमिकहरुको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा योजनामा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
सहकारीको उपयोगिता र यसबाट प्राप्त हुने लाभबारे तयार पारिएको चेतनामूलक भिडियो पनि सार्वजनिक गरिएको थियो। भिडियोमा पारिवारिक बजेट निर्माण, सहकारीबाट लिइने ऋणको सही उपयोग, लगानी व्यवस्थापन तथा आर्थिक अनुशासनका विषयसँगै अव्यवस्थित खर्च र आर्थिक विचलनले पारिवारिक जीवनमा पार्ने असरबारे पनि सन्देशमूलक सामग्री प्रस्तुत गरिएको थियो।