• २४ चैत २०८२, मङ्गलबार

ढकमक्क गुराँसले दोलखाका वन हराभरा

blog

दोलखाका वन क्षेत्रमा ढकमक्क फुलेको गुराँस । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, चैत २२ गते ।
दोलखाका वन क्षेत्रमा अहिले ढकमक्क गुराँस फुलेर जङ्गल नै हराभरा बनेका छन् । जिल्लाको माथिल्लो भूभागका शैलुङ, कालिञ्चोक, जिरी, बोचलगायतका क्षेत्रमा वनभरि लालीगुराँस फुलेपछि गाउँबस्तीसमेत सुन्दर देखिएको छ ।

वनभरि फुलेका लालीगुराँसका फूल यहाँको प्राकृतिक वरदान मात्र होइन, सुकाएर फूलका पत्र जडीबुटीका रूपमा व्यापार गरी आयआर्जन गर्न सकिने भए पनि यसतर्फ कसैको ध्यान जान नसकेको गुनासो कालिञ्चोकको कुरीका होटल व्यवसायी विमल ओझाले गर्नुभयो ।

उहाँका अनुसार जन्डिस, आउँ, खोकी, कलेजो सुन्निने तथा मुखको दुर्गन्ध हटाउनसमेत उपयोगी मानिने लालीगुराँस वातावरणीय तथा पर्यटकीय दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छ । फागुनदेखि वैशाखसम्म यहाँका जङ्गल बेहुलीझैँ सजिँदा सबैको मन तान्ने गर्दछन् ।

यहाँका करिब ८० प्रतिशतभन्दा बढी वन क्षेत्रमा लालीगुराँस फुलेको पाइन्छ । लालीगुराँसको बोटदेखि फूलसम्म विभिन्न खाले औषधी निर्माणका लागि प्रयोग हुँदै आएको छ ।

शैलुङका स्थानीय मोहनसिं तामाङले भन्नुभयो, “यहाँ प्रशस्त लालीगुराँसका जङ्गल रहेकाले यसको सदुपयोग गर्न सके मनग्य आम्दानीको स्रोत जुट्ने देखिन्छ ।”

देशका विभिन्न स्थानमा लालीगुराँसको जुस बनाउने उद्योग स्थापना हुने क्रम बढ्दै गएको छ । तर प्रचारप्रसारको कमी तथा सम्बन्धित निकायको ध्यान नजाँदा यहाँका सामुदायिक वनमा फुलेका गुराँसका फूल बिक्रीवितरण हुन सकेका छैनन् ।