नेपालको लोकतान्त्रिक इतिहासको मूलधारमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन । यो स्वतन्त्रता, नागरिक अधिकार, बहुदलीय प्रतिस्पर्धा र संवैधानिक शासनका लागि भएका दीर्घकालीन सङ्घर्षको संस्थागत रूप हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०१५ सालको संसदीय अभ्यास, २०४६ को जनआन्दोलन, २०६२/६३ को ऐतिहासिक परिवर्तन हुँदै संविधान निर्माणसम्मका प्रत्येक निर्णायक मोडमा कांग्रेसले केन्द्रीय भूमिका निर्वाह गर्दै आएको छ । यस अर्थमा कांग्रेसको इतिहास केवल सत्ता परिवर्तनको वृत्तान्त होइन, लोकतान्त्रिक मूल्य र संस्थागत विकाससँग गाँसिएको राष्ट्रिय यात्रा हो । इतिहासको गौरवले वर्तमानका कमजोरी ढाक्न सक्दैन, बरु समयानुकूल परिवर्तन नगर्दा त्यही गौरव बोझ बन्न सक्छ ।
समयसँगै जनअपेक्षा बदलिन्छन्, राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै जान्छ । मतदाताको चेतना पनि परिपक्व हुँदै जान्छ । यस्ता परिवर्तित सन्दर्भमा दलहरूले आफूलाई निरन्तर परिमार्जन गर्न सकेनन् भने उनीहरू अप्रासंगिक बन्छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनले दिएको नतिजा कांग्रेसका लागि गम्भीर चेतावनी मात्र होइन, आत्मसमीक्षाको स्पष्ट सङ्केत पनि हो । यसले सङ्गठन, रणनीति र नेतृत्व तिनै तहमा गहिरो पुनरवलोकन अपरिहार्य बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्तो नयाँ शक्तिको तीव्र उदयले नेपाली राजनीतिमा नयाँ सन्तुलनको सङ्केत दिएको छ । सहरी मध्यमवर्ग र युवापुस्तामा देखिएको यसको प्रभावले परम्परागत दलहरूलाई ‘डिफल्ट विकल्प’ मान्ने सोच कमजोर बनाएको छ । परिणामस्वरूप, मतदाता अब इतिहास वा भावनामा सीमित छैनन् उनीहरू परिणाममुखी राजनीति, पारदर्शिता, दक्षता र उत्तरदायित्व खोजिरहेका छन् । राज्य सञ्चालनमा देखिएका कमजोरी, अस्थिर सत्ता समीकरण, सिद्धान्तभन्दा सत्तालाई प्राथमिकता दिने प्रवृत्ति तथा सार्वजनिक संस्थाको दलीयकरणप्रति बढ्दो असन्तुष्टिले मतदातालाई विकल्पतर्फ उन्मुख बनाएको छ । कांग्रेसको पराजय यही बदलिँदो जनमतको स्वाभाविक अभिव्यक्ति हो ।
लोकतान्त्रिक प्रणालीमा हार सुधार र पुनर्निर्माणको अवसर हो । यही सन्दर्भमा सभापति गगनकुमार थापाको उदय र उहाँले अघि सारेको ‘ग्रान्ड रिफर्म’ (बृहत् सुधार) को अवधारणाले विशेष महìव राख्छ । निर्वाचनपश्चात् उहाँले नैतिक जिम्मेवारी स्वीकार्दै राजीनामाको सङ्केत गर्नु उत्तरदायित्वप्रतिको गम्भीर प्रतिबद्धता थियो । यद्यपि केन्द्रीय समितिले उक्त राजीनामा अस्वीकृत गरेपछि उहाँले आत्मसमीक्षा र रूपान्तरणको मार्ग रोज्दै पार्टीलाई नयाँ दिशातर्फ लैजाने दृढता देखाउनुभएको छ । यो केवल पद जोगाउने प्रयास नभई सङ्कटलाई अवसरमा बदल्ने रणनीतिक निर्णय हो । जहाँ नेतृत्वले समस्या स्वीकार्दै समाधानको स्पष्ट मार्गचित्र प्रस्तुत गर्छ ।
कांग्रेसको वर्तमान सङ्कट कुनै एक व्यक्तिको असफलता होइन, यो दीर्घकालीन संरचनात्मक, वैचारिक र सङ्गठनात्मक कमजोरीको परिणाम हो । सरकारमा रहँदा उठेका भ्रष्टाचारका आरोप, पारदर्शितामा कमीको धारणा, अस्थिर गठबन्धन राजनीति, संस्थागत स्वायत्ततामाथि प्रश्न, युवापुस्ताको बढ्दो असन्तुष्टि र पार्टीभित्रको गुटबन्दी जस्ता सबै कारणले मिलेर पार्टीको विश्वसनीयतामा क्षति पु¥याएको छ । यसको समाधान सतही वा ‘कस्मेटिक’ सुधारबाट सम्भव छैन । अब व्यापक, गहिरो र दीर्घकालीन रूपान्तरण आवश्यक छ । सभापति थापाले अघि सारेको ‘ग्रान्ड रिफर्म’ यही यथार्थको स्वीकारोक्ति हो ।
सुधार एजेन्डाको पहिलो स्तम्भ ‘शुद्धीकरण’ हो । राजनीतिक नैतिकता पुनस्र्थापना नगरी जनविश्वास पुनप्र्राप्ति असम्भव छ भन्ने बुझाइ यसमा स्पष्ट देखिन्छ । २०४६ सालपछिका सार्वजनिक पदधारकको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने प्रस्ताव, गिरीबन्धु, ललिता निवास, वाइडबडी जस्ता चर्चित प्रकरणमा निष्पक्ष अनुसन्धानको माग यी पहलले कांग्रेसलाई नैतिक उचाइमा उभ्याउने छ । यस्ता कदम व्यवहारमा इमानदारी साथ कार्यान्वयन भए भने यसले दलगत सीमाभन्दा बाहिर गएर समग्र राजनीतिक संस्कृतिलाई शुद्धीकरणतर्फ उन्मुख गराउन सक्छ ।
दोस्रो, स्तम्भ डिजिटल रूपान्तरण हो । ‘कांग्रेस आइडी’ सहितको पूर्ण डिजिटल सदस्यता प्रणालीले पार्टीलाई पारदर्शी, आधुनिक र डेटा–आधारित बनाउने लक्ष्य राखेको छ । सदस्यता वितरणमा हुने अनियमितता नियन्त्रण, सङ्गठनात्मक सूचना व्यवस्थापनको केन्द्रीकरण तथा प्रमाण आधारित निर्णय प्रक्रियाको विकास यी सबैका लागि डिजिटल पूर्वाधार अत्यावश्यक छ । विशेष गरी युवापुस्तालाई आकर्षित गर्न, उनीहरूको सहभागिता बढाउन र संवादलाई प्रभावकारी बनाउन डिजिटल रूपान्तरण अपरिहार्य छ । यसले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँदै सङ्गठनलाई २१ औँ शताब्दी अनुकूल बनाउने छ ।
तेस्रो, ‘ल्याटरल इन्ट्री’ को अवधारणा आधुनिक राजनीतिक अभ्याससँग मेल खाने महत्वपूर्ण पहल हो । केवल परम्परागत कार्यकर्ता संरचनामा सीमित रहँदा नीति निर्माणमा आवश्यक विशेषज्ञता अभाव हुन सक्छ । अर्थतन्त्र, प्रविधि, स्वास्थ्य, शिक्षा र सार्वजनिक नीति जस्ता क्षेत्रमा दक्ष व्यक्तिलाई पार्टीमा भित्र्याएर निर्णय प्रक्रियालाई गुणस्तरीय बनाउने प्रयासले कांग्रेसलाई प्रतिस्पर्धात्मक राजनीतिमा सुदृढ बनाउने छ ।
चौथो, ‘कांग्रेस लिडरसिप एकेडेमी’ मार्फत नेतृत्व विकासको योजना दीर्घकालीन दृष्टिले महत्वपूर्ण छ । लोकप्रियता मात्र पर्याप्त हुँदैन प्रभावकारी शासन सञ्चालनका लागि ज्ञान, दृष्टि र नीतिगत स्पष्टता आवश्यक हुन्छ । सार्वजनिक पदमा जान चाहने व्यक्तिका लागि प्रशिक्षण अनिवार्य बनाउने प्रस्तावले सक्षम, उत्तरदायी र परिणाममुखी नेतृत्व उत्पादन गर्ने आधार तयार पार्ने छ ।
पाँचौँ, अनुशासनमा कडाइ र सङ्गठनात्मक एकता । गुटबन्दीले कमजोर बनेको सङ्गठनलाई पुनः सुदृढ बनाउन स्पष्ट नियम, निष्पक्ष कार्यान्वयन र उत्तरदायित्व अपरिहार्य छन् । आन्तरिक प्रतिस्पर्धालाई संस्थागत मर्यादाभित्र राख्दै सामूहिक निर्णयलाई सम्मान गर्ने संस्कार विकास नगरेसम्म कुनै पनि सुधार दिगो हुन सक्दैन । लोकतन्त्रभित्र अनुशासन विरोधाभास होइन, बरु प्रभावकारी सङ्गठनको आधार हो भन्ने सन्देश यहाँ स्पष्ट देखिन्छ ।
यद्यपि यस्ता व्यापक सुधार प्रस्ताव कागजमा आकर्षक देखिए पनि कार्यान्वयन नै निर्णायक पक्ष हो । नेपालको जटिल राजनीतिक संरचनामा सुधारको मार्ग सहज छैन । पुराना शक्ति समूहको प्रतिरोध, स्वार्थको टकराव, अल्पकालीन राजनीतिक दबाब र स्रोतको सीमितता यी सबै चुनौतीका रूपमा उभिन सक्छन् । ‘ग्रान्ड रिफर्म’ सफल बनाउन नेतृत्वको दृढता, चरणबद्ध कार्ययोजना, स्पष्ट प्राथमिकता र निरन्तर सार्वजनिक जवाफदेहिता आवश्यक हुन्छ । पार्टीभित्र सहमति निर्माण, बाह्य सरोकारवालासँग संवाद र प्रगतिको मापन गर्ने स्पष्ट सूचक निर्धारण गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।
इतिहासले देखाएको छ । ठुला पराजयपछि पनि दलहरूले सशक्त पुनरागमन गरेका छन् । बेलायतमा विन्स्टन चर्चिलको पुनरागमन होस् वा भारतमा इन्दिरा गान्धीको राजनीतिक वापसी यी उदाहरणले लोकतन्त्रमा हार स्थायी नहुने पुष्टि गर्छन् । आवश्यक कुरा आत्मसमीक्षा, नीतिगत सुधार र जनतासँगको सम्बन्ध पुनर्निर्माण हो । कांग्रेसका लागि पनि यो अवसर खुला छ तर यसको सफलताका लागि व्यावहारिक कार्यान्वयन अपरिहार्य हुने छ ।
समानुपातिक मतले अझै पनि कांग्रेसप्रति जनविश्वास पूर्ण रूपमा समाप्त नभएको सङ्केत दिएको छ । ठुलो सङ्ख्यामा मतदाताले अझै पनि कांग्रेसको विचार, इतिहास र लोकतान्त्रिक प्रतिबद्धतामा भरोसा राखेका छन् । अब यो भरोसालाई सङ्गठित ऊर्जा, स्पष्ट नीति र प्रभावकारी अभियानमा रूपान्तरण गर्न सक्नु पर्छ । युवापुस्तासँग सार्थक संवाद, रोजगारी, शिक्षा, उद्यमशीलता र डिजिटल अर्थतन्त्रमा केन्द्रित ठोस नीतिहरूले कांग्रेसलाई नयाँ सामाजिक गठबन्धन निर्माणतर्फ अग्रसर गराउन सक्छन् ।
सभापति थापाको ‘ग्रान्ड रिफर्म’ कांग्रेसका लागि केवल सुधार कार्यक्रम होइन यो अस्तित्व र भविष्यसँग जोडिएको दूरगामी दृष्टिकोण हो । यसको सफलता कांग्रेसको पुनर्जीवन मात्र नभई नेपालको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणसँग पनि जोडिएको छ । असफलता भनेको केवल अवसर गुमाउनु मात्र होइन, जनविश्वास अझ कमजोर पार्नु पनि हो । अहिलेको मोडमा साहसिक निर्णय, इमानदार कार्यान्वयन र निरन्तर आत्मसमीक्षा अपरिहार्य छ । आजको अवस्थामा कांग्रेस आन्तरिक विवादमै अल्झिएर अघि बढ्न सक्दैन । कार्यकर्तालाई निरुत्साहित बनाउने होइन, उनीहरूलाई ऊर्जा, प्रेरणा र स्पष्ट दिशा दिनु आवश्यक छ ।
नेतृत्व तहले कांग्रेसजन र मतदाताको भावनालाई उच्च प्राथमिकतामा राख्दै समयानुकूल माग र अपेक्षालाई बुझ्न सक्नु पर्छ । यसमा चुक भयो भने कांग्रेस अझ पछाडि पर्न सक्छ । नेपालको लोकतान्त्रिक भविष्यका लागि बलियो, जिम्मेवार र सिद्धान्तनिष्ठ कांग्रेस अपरिहार्य छ । इतिहासले दिएको पुँजीलाई वर्तमान सुधारसँग जोड्न सके मात्र भविष्य सुरक्षित हुन्छ । सभापति थापाको नेतृत्वमा सुरु भएको सुधार बहसलाई व्यवहारमा रूपान्तरण गर्दै सङ्गठनात्मक एकता, वैचारिक स्पष्टता र जनमुखी नीतिलाई केन्द्रमा राख्न सकियो भने कांग्रेसको पुनर्जागरण केवल सम्भावना मात्र होइन निकट भविष्यको यथार्थ बन्न सक्छ ।