• १३ साउन २०८१, आइतबार

जुकेपानीबाटै १० करोड रुपियाँको काँक्रा बिक्री

blog

तरकारी जोन कार्यक्रमअन्तर्गत गरिएको तरकारी खेती । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, साउन ८ गते ।
पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रम प्रभावकारी भएको छ । जुकेपानीबाट मात्रै एक सिजनमा १० करोड रुपियाँ बराबरको काँक्रा बिक्री भएको  छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएपछि यहाँका कृषक लाभान्वित भएका छन ।

कावासोती नगरपालिकाको वडा नं ४ , ९ , १० १२ , १५ , १६ र १७, मध्यबिन्दु नगरपालिकाको वडा नं १,२,३,६,९ र हुप्सेकोट गाउँपालिकाको १, २ ,३ ४ वटा वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।

परियोजना सुरु हुुनुपूर्व यी क्षेत्रमा तरकारी खेतीको क्षेत्रफल ५१२ हेक्टर रहेको थियो । हाल क्षेत्रफल बिस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन स्थानीय तहका ९९ समूह, ६ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आबद्ध छन् भने दुई हजार ३५५ घरधुरी तरकारी जोनमा संलग्न छन् ।

परियोजना लागू भएपछि किसानहरुमा थप हौसला मिलेको र तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको हुप्सेकोट १ जुकेपानी सुनौलो महिला कृषक समूहकी अध्यक्ष कृष्णमाया राना मगरले बताउनुभयो

विशेष गरेर कृषि सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले कृषक बढी लाभान्वित भएको उहाँले बताउनुभयो । जुकेपानीबाट मात्रै एक सिजनमा १० करोड बराबरको काँक्रा बिक्री गरिएको छ । यसबाहेक टमाटर, आलु, बोडी, भिन्डी करेलालगायतका खेती गर्ने गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नवलपरासी पूर्वको प्रमुख विष्णुप्रसाद शर्माले परियोजना लागू भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोन अन्तर्गत कार्यालयले गर्ने सहयोगमा क्षेत्र बिस्तारमा बीउ बीजन, उत्पादन सामग्रीमा पचास प्रतिशत अनुदान र सिँचाइ आयोजनामा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिनुभयो ।