• २१ चैत २०८२, शनिबार

दुम्लिङसम्म गाडी गुडाउने सेनाको लक्ष्य

blog

नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडक । तस्बिर सौजन्य : नेपाली सेना

खलङ्गा समाचारदाता 

खलङ्गा (दार्चुला), चैत २१ गते । दार्चुला–तिङ्कर सडक अन्तर्गतको तुसारपानी–कोठेधार–तिङ्कर सडक निर्माण गरिरहेको नेपाली सेनाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यास गाउँपालिका–२, दुम्लिङसम्म गाडी गुडाउने लक्ष्य राखेको छ । 

तुसारपानीदेखि तिङ्करसम्मको कुल ७९ किलोमिटरमध्ये १८.५ किलोमिटर सडकको ट्र्याक खोलिसेकेको नेपाली सेनाले यस वर्ष दुम्लिङसम्म सानो गाडी (जिप) गुड्ने सडक बनाउने लक्ष्य लिएर धमाधम काम गरिरहेको दार्चुला–तिङ्कर सडक आयोजनाका प्रमुख एवं प्रमुख सेनानी राजेश कटवालले जानकारी दिनुभयो ।

सरकारले सेनाले निर्माण गरिरहेको यो सडक निर्माण गर्न चालु आव २०८२/८३ मा एक करोड रुपियाँ मात्रै बजेट विनियोजन गरेकोमा सो बजेट सकिएर निर्माणको काम बन्द भएको थियो । 

बजेट अभावमा सडक निर्माण बन्द भएपछि नेपाली सेनाले बजेट रकमान्तरका लागि अनुरोध गर्दै अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो । 

तत्कालीन सरकारले सडक निर्माणमा एक करोड तथा मेसिनरी औजार खरिद र घर निर्माणमा पाँच करोड ३१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । अन्य शीर्षकमा रहेको पाँच करोड रुपियाँमध्ये वर्तमान सरकारले चार करोड रुपियाँ सडक निर्माणमा रकमान्तर गरिदिएपछि सेनाले दुम्लिङसम्म गाडी पु¥याउने लक्ष्यसाथ काम थाल्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “दुम्लिङका जनताको सहजताका लागि सानो गाडी गुडाउने लक्ष्यसाथ काम गर्छौं, अबको चार/पाँच दिनभित्रै सबै कुराको व्यवस्थापन गरेर सडक निर्माण सुरु हुन्छ ।” 

अर्थ मन्त्रालयले चैत १७ गते सडक निर्माणका लागि रकमान्तर गरेको जनाएको छ । व्यास गाउँपालिका–३, तुसारपानीबाट सुरु भएर चीनसँगको नाका तिङ्करलाई जोड्ने सडकका रूपमा रहेको सडकको निर्माण नेपाली सेनाले गरिरहेको छ । 

अर्थ मन्त्रालयबाट रकमान्तर भएर आएको चार करोड बजेटमार्फत राङ्थलबाट दुम्लिङसम्मको चार किलोमिटर सडकको स्तरोन्नति गरिने उहाँले बताउनुभयो । 

यसअघि खोलिएको ट्र्याकको विभिन्न ठाउँमा पहिरो खसेर सडक भत्किएको उहाँको भनाइ छ । आव २०७७/७८ देखि यो सडकलाई नेपाली सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले चालु आवमा छाङ्रुबाट तल एक किलोमिटर सडकको नयाँ ट्र्याक खोलेको पनि आयोजना प्रमुख एवं प्रमुख सेनानी कटवालले बताउनुभयो ।