रामकृष्ण बोहरा
बागलुङ, चैत १८ गते । रजत वर्षको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी चैत २० र २१ मा गर्ने मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा पत्रकारितामा गिद्वे प्रेसदेखि डिजिटल मिडियाको विषयमा चर्चा हुनेछ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने मेलाको पहिलो दिन ‘पत्रकारिता : गिद्वे प्रेसदेखि एआइसम्म’ विषयमा हुने प्यानल छलफलमा राष्ट्रिय समाचार समितिका सिनियर लेक्चरल तथा पूर्वप्रधान सम्पाक एकराज पाठक, लोकान्तरका सम्पादक विमल गौतम, टेकपानाका सम्पादक गोपाल साउद सहभागि हुनुहुनेछ ।
सोही दिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछाने, बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुशिल खड्काको सहभागितामा बागलुङको भविष्यबारे बहस हुनेछ । उक्त बहस कृषि, उद्यम र पर्यटनमा केन्द्रित हुने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिनुभयो ।
मेलाको दोस्रो दिन ‘अन्यौल कि अनुभूतिः कहाँ छ स्थानीय सरकार ?’ विषयमा हुने छलफलमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, स्थानीय तहका विज्ञ विजयराज पन्त र अभियन्ता तथा फोटो पत्रकार आरके अदिप्त गिरी वक्ताको रुपमा रहनुहुनेछ । ‘मोफसलका मिडियाः सबल कि संकट ?’ बारे गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल र ढोरपाटन राष्ट्रिय दैनिकका सम्पादक हरिनारायण गौतमबिच प्यानल छलफल हुनेछ ।
मेलामा पत्रकारितामा शैलीः शिष्ट कि आक्रमक र पत्रकार महासंघ : अब कस्तो बनाउने, कसरी बनाउने विषयमा पनि चर्चा गरिने छ । उक्त बहसमा क्रमशः नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, मिडिया एशोसियसन नेपालका अध्यक्ष शुभशंकर कँडेल, गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठी, पत्रकार महासंघका पुवअध्यक्षहरु राजेशचन्द्र, मुकेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी, नरेश कँडेलबिच प्यानल छलफल हुनेछ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः अधिकार कि जिम्मेवारी विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने र मिडियामा सिमान्त आवाजबारे नेपाल पत्रकार महासंघका पुर्वमहासचिव उजिर मगर, दलित अधिकारकर्मी कुञ्जनी परियार, कान्तिपुरका पत्रकार दिपक सापकोटाले चर्चा गर्नुहुनेछ ।
यस्तै, न्यु मिडियाः नाम पनि दाम पनि शिर्षकमा कन्टेन्ट क्रियटर तथा मनोरञ्जन पत्रकार वर्षा बस्नेत, सोलो ट्राभलर सिर्जना सिज्जु, सफ्टवेयर आर्किटेक्ट तथा डिजिटल प्रणाली रणनीतिकार चिराग थापाले प्रवचन दिनुहुनेछ । जननी जन्मभुमिश्च सेसनमा अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, सामाजिक अभियन्ता जुनु पुन मगर र लोकगायक तथा सर्जक बसन्त थापाले आफ्नो अनुभव सुनाउनुहुनेछ ।
१७ लाख खर्च अनुमान गरिएको मेलामा फोटो प्रर्दशनीदेखि पर्यटन प्रवद्र्धन, स्थानीय मिडिया सवलीकरण र राष्ट्रिय विषयमा चरणबद्ध छलफल हुने अध्यक्ष थापाले बताउनुभयो ।