• ८ मंसिर २०८१, शनिबार

कबाडी टिप्दै बालबालिका

blog

जीबछ यादव

लहान, साउन ८ गते ।  लहानको मुख्य चोकमा बिहान दर्जनौँको  सङ्ख्यामा विपन्न दलित बालबालिका कबाडी र फोहोर सङ्कलन गरिरहेका हुन्छन्। सडकमा फलिएका खाली पानी खाने बोटल, जुसका डिब्बाहरू सङ्कलन गरी कबाडी केन्द्रमा बिक्री गरी दिनहुँ दुई/चार सय कमाइ गरी आमाबुवालाई दिने गरेको कबाडी सङ्कलन गर्ने बालबालिकाले बताए। 

लहान–५ नम्बर घर भएका  १० र १२ वर्षीय भाइबहिनी अर्जुन साह र राधा साह एकाबिहानै उठेर ठेला लिई एक जनाले ठेला चलाउने अर्कोले सडकमा फालिएका कबाडी र फोहोर सङ्कलन गरेर कबाडी केन्द्रमा बिक्री गर्दा दिनहुँ चार सयदेखि पाँच सय रुपियाँसम्म कमाइ हुने गरेको बताएका छन्। बहिनी राधाले भनिन्, “कुनै बेला म ठेला चलाउँछु, दाइले कबाडी सामान टिप्नुहुन्छ, मैले टिप्दा दाइले चलाउनुहुन्छ। दुवै जना थाकेपछि बुवा (बुधन साह)ले ठेला चलाउन थालेपछि हामी दुवै जना सङ्कलनमा लाग्छौँ ।”  

सामुदायिक विद्यालयमा बिहानी कक्षा सुरु भएपछि बेलुका सडकमा विपन्न बालबालिका फोहोरको थुप्रोबाट कबाडी सामान सङ्कलन गरिरहेका हुन्छन्, अहिले त एक महिना विद्यालय बन्द रहेकोले बिहानै नगरपालिकाको फोहोर सङ्कलन गर्ने ट्याक्टर आउनुभन्दा अगावै बिहानै कबाडी सामान बालबालिका सङ्कलन गरी रहेको मुख्य चोकको चिया पसल सञ्चालक दीपक साहले बताउनुभयो। 

बालबालिकाले काबाडीका फोहोर 

सङ्कलन गरेर बिक्री गरी भएको कमाइ आमाबुवाले लिई मदिरा सेवनमा खर्चिरहेकोले यसलाई रोक्न र दलित बस्तीबाट मदिरा भट्टी हटाउन शिक्षा र सचेतनामूलक कार्यक्रम आवश्यक रहेको दलित अभियानकर्मी नेनीलाल रामले बताउनुभयो। “यसतर्फ नगरपालिकाको महिला तथा बालबालिका शाखाको ध्यान केन्द्रित हुनुपर्छ,” उहाँले भन्नुभयो।    

१४ वर्ष उमेर नपुगेका बालबालिकालाई जोखिम कार्यमा लगाउन नहुने कानुनी प्रावधान छ। कक्षा ३, ४, ५ र ६ मा पढ्ने दलित बालबालिकालाई आमाबुवाले नै फोहोरको थुप्रोबाट कबाडीका सामान सङ्कलन गर्न लगाउन नहुने बताउनुभयो।  मानवअधिकारवादी देवराज पोखरेलले पछिल्लो समयमा आफ्नै आमाबुवाबाट फोहोरको थुप्रोबाट कबाडी सामान सङ्कलन गर्न परिचालन गर्ने गतिविधि बढेकोले यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो।