• १४ माघ २०८२, बुधबार

सिराहा–४ मा पाँच पूर्वमन्त्रीलाई रास्वपाको चुनौती

blog

प्रतिनिधिसभा निर्वाचनका लागि सिराहा क्षेत्र नं. ४ मा उम्मेदवारी दिएकाहरू । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, माघ १४ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिराहा क्षेत्र नं. ४ मा पाँच जना पूर्वमन्त्रीबिच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ। ती सबै पूर्वमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले चुनौती दिएका छन्।

मिर्चैया, कर्जन्हा नगरपालिका तथा कल्याणपुर र विष्णुपुर गाउँपालिका समेटिएको सिराहा–४ क्षेत्रमा विगतमा कम्युनिष्ट दलहरूको प्रभाव रहँदै आएको छ। २०७९ को निर्वाचनमा जनमत पार्टीका वीरेन्द्रप्रसाद महतोले जनता समाजवादी पार्टी (जसपा) नेपालका वीरेन्द्रप्रसाद साहलाई सात हजार ८०८ मतले पराजित गर्दै जित हासिल गरेका थिए। त्यसबेला नेकपा एमाले र जसपा नेपालको गठबन्धनका साझा उम्मेदवार रहेका महतो यसपटक जसपा नेपाल परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बन्नुभएको छ।

२०७९ को निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार धर्मनाथप्रसाद साह तेस्रो स्थानमा सीमित हुनुभएको थियो। यसपटक जसपा नेपालबाट पूर्व सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, रास्वपाबाट तपेश्वर यादव र नेपाली कांग्रेसबाट चन्द्रकला यादव उम्मेदवार हुनुहुन्छ।

त्यस्तै, पूर्व न्याय तथा कानुन मन्त्री अजयशङ्कर नायक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएको छ। नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी पूर्व सामान्य प्रशासन मन्त्री धर्मनाथप्रसाद साह नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिनुभएको छ। पूर्व विज्ञान तथा प्रविधि मन्त्री विसेन्द्र पासवान बहुजन समाजवादी पार्टीबाट उम्मेदवार बन्नुभएको छ।

स्थानीय नागरिक अगुवा बेचन यादवका अनुसार यसपटकको निर्वाचन २०७९ भन्दा झनै प्रतिस्पर्धात्मक हुने देखिन्छ। “पाँच पूर्वमन्त्रीका लागि रास्वपाका उम्मेदवार तपेश्वर यादव कडा चुनौती बनेका छन्,” उहाँले भन्नुभयो।

२०४६ सालपछि यस क्षेत्रमा तीनपटक कम्युनिस्ट पार्टी, एकपटक नेपाली कांग्रेस र एकपटक जनता समाजवादी पार्टीले जित हासिल गरेका छन्। पूर्वमन्त्रीहरूको प्रतिष्ठा दाउमा लागेकाले यसपटकको चुनाव विगतभन्दा फरक हुने स्थानीय मतदाताको बुझाइ छ।

शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, पर्यटन र सामाजिक न्याय मुख्य स्थानीय मुद्दा भए पनि नयाँ र पुराना दलबिचको प्रतिस्पर्धा प्रमुख बनेको छ। किसान आन्दोलन, माओवादी जनयुद्ध र मधेश आन्दोलनको प्रभाव रहेको यस क्षेत्रका मतदाता अझै कसलाई जिताउने भन्नेमा स्पष्ट देखिएका छैनन् भन्ने पत्रकार रामनारायण ठाकुरको बुझाइ छ।

जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्री हुँदा गरेको काम र कर्जन्हामा अस्पताल तथा विद्यालय सञ्चालनमा गरेको व्यक्तिगत लगानीका आधारमा आफू विजयी हुने दाबी गर्नुभएको छ। नेकपा एमालेका उम्मेदवार धर्मनाथ प्रसाद साहले सामान्य प्रशासन मन्त्रीका रूपमा गरेको काम र विभिन्न आन्दोलनमा खेलेको भूमिकाले जित सुनिश्चित हुने दाबी गर्नुभयो।

जसपा नेपालका उम्मेदवार राजकिशोर यादवले सूचना तथा सञ्चारमन्त्रीका रूपमा गरेको काम र राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाका कारण जित्ने विश्वास व्यक्त गरेका गर्नुभएको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अजयशङ्कर नायकले न्याय तथा कानुनमन्त्री हुँदा न्याय क्षेत्रमा सुधार गरेको भन्दै आफू विजयी हुने दाबी गर्नुभएको छ।

दलित समुदायको आवाज प्रतिनिधित्व गर्ने पूर्व विज्ञान तथा प्रविधिमन्त्री विसेन्द्र पासवानले पनि जितप्रति आशावादी रहेको बताउनुभएको छ। रास्वपाका युवा उम्मेदवार तपेश्वर यादवले इन्जिनियर पद त्यागेर युवाको भावना प्रतिनिधित्व गर्न राजनीतिमा आएको उल्लेख गर्दै आफू निर्वाचित हुने आत्मविश्वास व्यक्त गर्नुभयो।

सिराहा–४ मा ३६ जना उम्मेदवार मैदानमा रहे पनि मुख्य प्रतिस्पर्धा पाँच पूर्वमन्त्री र रास्वपाका उम्मेदवारबिच हुने देखिएको छ । यस क्षेत्रमा एक लाख ६ हजार ६६८ मतदाता छन् ।