• ७ जेठ २०८१, सोमबार

नमखुलेकमा चौरीको रगत निकाल्ने मेला (फोटो फिचर)

blog

तस्विर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन ७ गते । हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको घरपझोङ गाउँपालिका –५ नमखुलेकमा याक तथा चौरीको आलो रगत निकाल्ने कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्नेगरेका छन् ।

सदरमुकाम जोमसोमदेखि ठिनी हुँदै करिब ५ किलोमिटर कच्ची सडकको यात्रा एवम् ४५ मिनेटको पैदलयात्रापछि मनमोहक नमखुलेकमा पुगिने भएको हुनाले आन्तरिक पर्यटकहरु बढेको व्यवसायीहरुको भनाइ छ । चौंरी मेलामा ज्यूँदो चौरीलाई नियन्त्रणमा लिएर तालिमप्राप्त आम्जीले घाँटीमा नसा पत्ता लगाइ चापोले नसा काटेर रगत निकाल्ने गरिन्छ । 

तालिम नभएका व्यक्तिले रगत निकाल्दा याक चौंरीको मृत्युसम्म हुने भएकाले तालिमप्राप्त अनुभवी आम्जीले मात्र रगत निकाल्ने थासाङ गाउँपालिका नाउरीकोटका इन्द्रसिंह शेरचनले बताउनुभयो । रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौरी छाडिन्छ ।

मुस्ताङ जिल्ला भित्रका चौरी तथा याक पालन हुने खर्क क्षेत्रमा प्रत्येक वर्ष बैशाख र साउन गरेर दुई पटक रगत निकाल्ने र खाने मेला सञ्चालन हुँदैआएको छ । घरपझोङ गाउँपालिकाको नमखलेक र थासाङ गाउँपालिकाको मार्चे लेकमा पनि अहिले चौरीको रगत निकाल्ने मेला सञ्चालन भएको छ ।

निलगिरी हिमालको फेंदमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिएको सुन्दर नमखुलेकमा याकचौँरीको आलो रगत खाने मेला भर्न पुगेका म्याग्दीको रघुगंगा गाउँपालिकाका अमृत सुवेदीले उक्त लेकमा पुग्दा याक चौरीको आलो रगत निकालेको दृश्यसँगै हिमालको काखमा पुग्दा स्वर्ग पुगेजस्तै अनुभव भएको सुनाउनुभयो ।

झण्डै तीन सय हाराहारी याकचौंरी रहेको स्थानीय बासिन्दा पुरन गौचनले बताउनुभयो । उक्त स्थान पुग्नका लागि यातायातको साधनमा कच्ची सडक पार गरेपछि झण्डै ४५ मिनेट पैदल यात्रा गरेपछि पुग्न सकिने स्थानीय वासिन्दा एवम् चौंरीपालक कृषक भूपेन्द्र शेरचनको बताउनुभयो । 

लेकमा पाइने यार्सागुम्बा, पाँच औले, निरमसी, जटामसी, कुटुकी, वन लसुन, जिम्बुलगायतका जटिबुटी खाने भएकाले याकचौँरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने नाउरीकोटका इन्द्रसिंह शेरचनले बताउनुभयो । याकचौँरीको आलो रगत खानाले ग्यास्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसर लगायतका रोगहरू निको हुने शेरचनको भनाइ छ ।

साउन ४ देखि शुरु मेला १० गते सम्म रहने मेलामा दैनिक एक सयभन्दा धेरै मानिसहरु जोमसोमबाटै पुग्ने गरेको, झण्डै एकसय हाराहारीमा त्यही लेकमै बसेर रगत खानेगरेको स्थानीयको भनाइ छ । याकचौरी पाल्ने कृषकहरुका लागि आलो रगत निकालेर बेच्ने कार्य वैकल्पिक आम्दानीको स्रोत भएको पनि उहाँहरुको बुझाइ छ । वयस्क याक तथा चौंरीबाट अधिकतम ३५ गिलाससम्म रगत निकालेर प्रतिगिलास दुई सयमा बेच्ने गरिएको चौरीपालक कृषकले बताउनुभयो । 

याकचौँरीको मूल्य एक लाखदेखि एक लाख ३० हजारसम्म पर्ने र चिसो भूगोलमा हुर्काइएका याकचौंरीको मासु स्वादिलो र पोसिलो हुने हुनाले मासुको उच्च माग हुनेगर्छ । चौंरीबाट उत्पादित दूधबाट दही, घ्यु, चिज र छुर्पीलगायतका परिकार बनाएर बिक्री गर्ने गरिन्छ ।