अमृतप्रसाद पौडेल
म्याग्दी, चैत १० गते । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि हिमाली जिल्ला म्याग्दीमा केन्द्राध्यक्ष र परीक्षा केन्द्र तोकिएको छ ।
सोमबार परीक्षा समन्वय समिति म्याग्दीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको अध्यक्षतामा बसेको बैठकले परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष तोक्ने निर्णय गरेको हो । जिल्लाभित्र रहेका ८ वटा परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विदुर चापागाईंका अनुसार एसइई परीक्षा सञ्चालनका लागि जिल्लाका ८ वटा केन्द्रमा केन्द्राध्यक्ष तोकिएको हो ।
प्रकाश माध्यमिक विद्यालय बेनी, बेनी सामुदायिक माध्यमिक विद्यालय बेनी, न्यू वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालय बेनी र माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय बेनीलाई परीक्षा केन्द्र तोकिएको छ । त्यसैगरी मंगला माध्यमिक विद्यालय बाबियाचौर, जनप्रिय माध्यमिक विद्यालय दरवाङ, हेम माध्यमिक विद्यालय शिवाङ तथा पोखरेबगर आधारभूत विद्यालय (अन्नपूर्ण गाउँपालिका–६) लाई पनि परीक्षा केन्द्र तोकिएको छ ।
जिल्लाभित्रका ७ वटा परीक्षा केन्द्र माध्यमिक विद्यालय भएकाले सोही विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ भने पोखरेबगर आधारभूत विद्यालयका लागि जिल्लाभित्र कार्यरत माध्यमिक तहका स्थायी शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको छ ।
केन्द्राध्यक्षहरूमा लेखबहादुर हमाल, भीमबहादुर घर्ती, दिलबहादुर दाहाल, गमबहादुर खत्री, दिवाकर सुवेदी, शेरबहादुर केसी, राजु केसी र गजेन्द्र श्रेष्ठ रहेका छन् ।
म्याग्दी जिल्लाका ६ स्थानीय तहमध्ये बेनी नगरपालिकाभित्र चार वटा परीक्षा केन्द्र रहेका छन् भने रघुगंगा गाउँपालिकामा यस वर्ष परीक्षा केन्द्र तोकिएको छैन । विगत वर्षहरूमा मुक्तिधाम माध्यमिक विद्यालय भगवतीमा केन्द्र तोकिने गरेको भए पनि यस वर्ष हटाइएको छ । त्यस्तै बेनी नगरपालिका–४ स्थित धवलागिरी माध्यमिक विद्यालय र अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग माध्यमिक विद्यालयका परीक्षा केन्द्र पनि यस वर्ष हटाइएका छन् ।
परीक्षा समन्वय समितिको बैठकले परीक्षाको सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई आग्रह गर्ने निर्णय गरेको छ ।
धवलागिरी गाउँपालिकाको हेम माध्यमिक विद्यालय शिवाङ केन्द्रमा नियमिततर्फ १५२ र ग्रेडवृद्धितर्फ ९२ गरी कुल २४४ जना विद्यार्थी सहभागी हुँदैछन् । मालिका गाउँपालिकाको दरवाङस्थित जनप्रिय माध्यमिक विद्यालय केन्द्रमा नियमित २२९ र ग्रेडवृद्धि ५५ गरी २८४ जना विद्यार्थी परीक्षा दिनेछन् ।
त्यस्तै मंगला गाउँपालिकाको बाबियाचौरस्थित मंगला माध्यमिक विद्यालय केन्द्रमा नियमित २०८ र ग्रेडवृद्धि ७६ गरी २८४ जना विद्यार्थी सहभागी हुनेछन् । माउन्ट एभरेष्ट आवासीय मावि बेनी केन्द्रमा २११ नियमित र २९ ग्रेडवृद्धि गरी २४० जना, प्रकाश मावि केन्द्रमा २२८ नियमित र ३७ ग्रेडवृद्धि गरी २६५ जना तथा बेनी सामुदायिक मावि बेनीमा नियमित २०१, ग्रेडवृद्धि ७ र प्राविधिक धारतर्फ ६६ नियमित तथा ९ ग्रेडवृद्धि गरी कुल २८३ जना विद्यार्थीले परीक्षा दिनेछन् ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित आधारभूत विद्यालय केन्द्रमा १३४ नियमित र ४ ग्रेडवृद्धि गरी १३८ जना तथा न्यू वेस्ट पोइन्ट आवासीय माविमा २५८ नियमित र १९ ग्रेडवृद्धि गरी २७७ जना विद्यार्थी सहभागी हुनेछन् ।
यस वर्ष म्याग्दी जिल्लाबाट १,६२१ जना नियमित, ३२८ जना ग्रेडवृद्धि र ६६ जना प्राविधिक धारका गरी कुल २,०१५ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख चापागाईंले जानकारी दिनुभयो ।