• ९ चैत २०८२, सोमबार

एसईईमा शून्य नतिजा आएका विद्यालयप्रति परीक्षा समितिको चासो

blog

राममणि दाहाल

मकवानपुर, चैत ९ गते । २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा शून्य नतिजा आएका विद्यालयहरु प्रति जिल्ला परीक्षा समन्वय समितिले चासो देखाएको छ । यस वर्षको एसइईमा नतिजा सुधारका लागि भएका प्रयास र योजनाहरुका बारेमा ती विद्यालयहरुसँग छलफल गर्दै समितिले नतिजा सुधारको सुनिश्चितता गर्न विद्यालयलाई निर्देशन दिएको छ ।

गत वर्षको शैक्षिक सत्रमा मकवानपुरका सात विद्यालयको एसइईमा नतिजा शून्य रहेको थियो । 

२०८१ को एसइईमा मकवानपुरको जिल्लाको थाहा नगरपालिका–७, आग्रास्थित सुन्दरीदेवी माध्यामिक विद्यालय, राक्सिराङ गाउँपालिका–४ स्थित कालिका मावि, वडा नं ८ स्थित श्री माध्यमिक विद्यालय, वडा नं. ८ कै प्रजा जगृति मावि, मनहरी गाउँपालिका–२ स्थित सीता मावि, बकैया गाउँपालिका–३ स्थित कालिका मावि र बकैया–१० स्थित प्रसिद्ध माविको शून्य नतिजा आएको थियो। 

ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग छलफल गरिएको समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। उहाँले नतिजा शून्य आएका विद्यालय र विद्यार्थीको समस्या र अवस्थाका बारेमा सोधीखोजीसँगै यस वर्षको एसइईमा नतिजा सुधारका उपायका बारेमा छलफल गरिएको बताउनुभयो । 

गत वर्ष एसइईमा सुन्दरीदेवी माध्यामिक विद्यालयबाट आठ, कालिका माविबाट दुई, श्री माध्यमिक विद्यालयबाट १७, प्रजा जगृति माविबाट २९, सीता माविबाट २०, कालिका माविबाट २३ र प्रसिद्ध माविबाट १५ जना सहभागी भएकोमा शून्य नतिजा आएको थियो । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका प्रमुख सुदीप गिरी, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । 

छलफलमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु विषय शिक्षकको अभाव, विद्यालय र घरको दूरी बढी भएकोले पठनपाठन र अभ्यासमा समस्या रहेको सुनाएका थिए ।