• २१ जेठ २०८१, सोमबार

कोभिड उपचार केन्द्र तयारी अवस्थामा

blog

दमक, साउन ७ गते । झापाको दमक नगरपालिकाले कोभिड महामारीको समयमा सञ्चालनमा ल्याएको अस्थाई कोभिड उपचार तयारी अवस्थामा राखेको छ । पुन कोभिडको संक्रमण बढ्न थालेपछि ३० बेड क्षमताको कोभिड अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय गरेको र आवश्यक तयारी सुरु भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताउनुभयो । 

दमक वडा नम्बर २ स्थित बेलडाँगीमा रहेको कोभिड उपचार केन्द्रमा सरकारी दमक अस्पताल मातहतमा रहेको छ । कोभिडका विरामीहरुलाई तत्काल राख्नु पर्ने अवस्थामा राख्न सकिने गरी तयारी अवस्था बनाईएको छ, उहाँले भन्नुभयो । यहाँ कोभिडको निशुल्क उपचार हुनेछ ।

कोभिडका विरामीहरुको संख्या कम र यहाँ उपचारका लागि आउन छाडेपछि झण्डै १ बर्ष अघि देखि उपचार केन्द्र बन्द रहेको थियो । बन्द रहेको उपचार केन्द्रको सरसफाई, बेड तथा अक्सिजनका सिलिण्डरहरु तयारी अवस्थामा राख्ने, आवश्यकता अनुसार २ वटासम्म भेन्टिलेटरको समेत ब्यवस्थापन गर्ने गरी काम सुरु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

यसभन्दा अघि कोभिड उपचार केन्द्रसंगै आईसुलेसन सेन्टरको समेत ब्यवस्थान गरिएको थियो । जिल्लामा नै कोरोना संक्रमण बढन थालेपछि कोभिडको उपचारको भरपर्दो ब्यवस्थापनका लागि आवश्यक तयारी गर्न जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय तहहरुलाई आग्रह पनि गरेको थियो ।

Author

विष्णुप्रसाद पोखरेल