• ८ जेठ २०८१, मङ्गलबार

पाँच करोड ३९ लाख मूल्य बराबरको सुपारी नियन्त्रणमा

blog

नवराज कट्टेल

विराटनगर, साउन ६ गते । विराटनगर –१४ बाट बिहीबार राती १०ः३० बजे नियन्त्रणमा लिइएको आठ ट्रक सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने भएको छ । नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको सुपारी रि–रुट गर्ने क्रममा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । 

गत असार २६ गते विराटनगर भन्सारले ११३ रुपिँया निकासी महसुल लिएर सुपारी चाँजपास गरेको थियो । भारतीय कष्टमले दश दिनसम्म सुपारी होल्ड गरेपछि जुलाई २१ तारिखमा २७ लाख ५० हजार भारतीय रुपियाँ बुझाएपछि सेतुबन्ध नाकाबाट निकासी गर्ने अनुमति दिइएको देखिन्छ । 

भारतको मिरगञ्ज पुल भत्केपछि नयाँ पुल बने पनि त्यहाँबाट सवारी आवातजावत गर्न अनुमति नभएपछि आयात–निर्यातका लागि रि–रुट गर्नुपर्ने बाध्यता छ । त्यसैको फाइदा उठाएर दुवै भन्सारमा जाँचपास भएको सुपारी प्रहरी नियन्त्रणमा परेको हो । 

मनकामना ट्रेडर्सको नामबाट निकासी गरिएको सुपारी नवीन घिमिरेको रहेको बताइएको छ । विराटनगर भन्सार कार्यालयका भन्सार एजेन्ट किशोर शाहीले सुपारी भन्सार क्लियरेन्स गराउनु भएको हो । नेपाल सुपारी विकासको सिफारिस र सिएनआईको सिफारिस समेत संलग्न राखिएको छ । 

आठ वटा ट्रकमा २ हजार ६७८ बोरा सुपारी २ लाख १९ हजार ५९६ केजी छ । यसको भारतीय मूल्य ५ करोड ३९ लाख ८८ हजार ४८० हुन आउँछ । भारतीय नम्बर यूपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, यूपी ५० बिटी ७१७७, यूपी ६२ बिटी ८१२१, यूपी ५४ टि ६४२९, यूपी ५० एटी ३१५८ र यूपी ६२ सिटी ०६२७ नम्बर प्लेटका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले सुपारी उत्पति सर्टिफिकेटका आधारमा मात्रै नभई उत्पादनका आधारमा यकिन गर्नुपर्ने देखिएको बताउनुभयो । यसका लागि कहाँको उत्पादन भन्ने परीक्षण गर्नुपर्ने अवस्था आएकाले नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । तर भन्सार क्लियरेन्स एजेन्ट शाहीले भने यस अगाडि यस प्रक्रियाबाट ८० गाडी सुपारी निकासी भइसकेको दावी गर्नुभयो । 

पछिल्लो पटक सबै कानुनी प्रक्रिया पूरा गरेर रि–रुटमा रहेको सुपारी नियन्त्रणमा लिएर प्रहरीले कानुन विपरीत काम गरेको आरोप लगाउनुभयो । प्रहरीले तेस्रो मुलुकबाट आयात गरेको सुपारी नेपाली उत्पादन बनाएर निर्यात गरेको हुनसक्ने दावी गरेको छ । भारतीय कस्टम कार्यालय जोगबनीका अधिकारीले भने नेपाल प्रहरीको यो कार्यप्रति आपत्ति जनाएका छन् । 

उनीहरुले प्रहरीलाई शंका लागेमा नेपाली भन्सारमै हुँदा सुपारी नियन्त्रणमा लिनुपर्नेमा भारतीय कष्टम अफिसको स्वीकृतिपछि नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाएका हुन् । प्रहरीले भने सुपारी निर्यातकर्ता समेत नक्कली हो की भन्ने आशंका गरेको छ । कानुनी रुपमा मनकामना ट्रेडर्स नवीन घिमिरेको देखिए पनि यो सुपारी अन्य पहुँचवाला कारोबारीको हुनसक्ने आशङ्का गरिएको छ । जुन फर्मबाट निर्यात भयो, त्यो फर्मले यस अगाडि कारोबार गरेको वा नगरेको पनि यकिन गर्नुपर्ने प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

काराेबार गर्ने फर्म नै नक्कली हुन पनि सक्छ उहाँको भनाइ छ । प्रहरीले भारतको भन्सारमा धेरै दिनसम्म सुपारी रोकिनुको कारणसमेत खोजी गर्ने भएको छ । असार २६ मा विराटनगर भन्सारमा जाँचपास भएर जोगबनी कस्टम पुगेको सुपारी यतिका दिनसम्म कसरी रह्यो भन्ने आशङ्का प्रहरीले गरेको छ ।