• ५ चैत २०८२, बिहिबार

लमजुङमा एसइईका तीनवटा केन्द्र घटाएर १३ वटा कायम

blog

शिक्षा विकास तथा समन्वय इकाई लमजुङ कार्यालय । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत ५ गते । चैतको १९ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि लमजुङका १३ वटा विद्यालयमा परीक्षा केन्द्र कायम भएको छ । 

शिक्षा विकास तथा समन्वय इकाई लमजुङले परीक्षा सञ्चालनका लागि जिल्लाका सातवटा स्थानीय तहमा १३ वटा विद्यालयमा परीक्षा केन्द्र सिफारिस गरेकोमा उक्त केन्द्र कायम भएको हो । 

गत वर्ष जिल्लामा १६ वटा परीक्षा केन्द्र निर्धारण भएकोमा यसवर्ष १३ वटा मात्र केन्द्र कायम भएको छ । साविक परीक्षा केन्द्र परेका विद्यालयमध्ये यस वर्ष चारवटा केन्द्र हटाउने र एउटा थप्नेगरी सिफारिस भएपछि १३ वटा कायम भएको छ ।

यसवर्ष थपिएको परीक्षा केन्द्रमध्ये क्होलासोँथार गाउँपालिकाको मालिङस्थित शारदा माध्यामिक विद्यालय रहेको छ । यसअघिको परीक्षामा जिल्लाको क्होलासोँथार गाउँपालिकामा एउटै पनि परीक्षा केन्द्र कायम नभएकोमा यसवर्ष सो गाउँपालिकामा पनि एउटा परीक्षा केन्द्र सिफारिस भएको हो ।

त्यसैगरी गतवर्ष परीक्षा केन्द्र कायम भएकामध्ये बेसीशहरस्थित भूपू सैनिक आवासीय मावि, बेसीशहर –१ उदिपुरस्थित जनकल्याण मावि, राईनासस्थित बिरभक्ति मावि र मध्यनेपालको कुष्माकर माविमा परीक्षा केन्द्र नरहने गरी सिफारिस गरिएको इकाई प्रमुख दिवाकर शर्माले बताउनुभयो । 

सिफारिस गरिएका परीक्षा केन्द्रमध्ये एउटा केन्द्रमा कम्तिमा दुइसय ५० जना विद्यार्थी हुनेगरी सिफारिस गरिएको इकाईले जनाएको छ । आगामी चैत्रमा हुने माध्यामिक शिक्षा परीक्षामा दुई हजार आठसय बढी विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ दुई हजार तीनसय र ग्रेड बृद्धितर्फ पाँचसय परीक्षार्थी हुने शिक्षा समन्वय इकाई लमजुङले जनाएको छ । 

शिक्षा समन्वय इकाईका अनुसार परीक्षा केन्द्र कायम भएकामध्ये बेसीशहरमा तीन, सुन्दरवजारमा तीन, मध्यनेपाल र राईनासमा दुईवटा, दोर्दी, क्होलासोथार र मस्र्याङदीमा एक विद्यालयमा परीक्षा केन्द्र कायम भएको छ ।

जिल्लाको दुधपोखरी गाउँपालिकामा यसवर्ष पनि परीक्षा केन्द्र कायम भएको छैन । गत वर्ष क्होलासोँथार अन्तर्गतका विद्यालयका परीक्षार्थीलाई बेसीशहर र मध्यनेपालमा परीक्षा केन्द्र तोकिएको थियो, यसवर्ष कुष्माकर माविका विद्यार्थीलाई मालिङ परीक्षा केन्द्रमा सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय इकाई लमजुङले जनाएको छ ।