• ३ चैत २०८२, मङ्गलबार

गुल्मीमा फागुन महिनामा १० मुद्दा दर्ता

blog

जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुंगा(गुल्मी), चैत ३ गते । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार फागुन महिनामा १० वटा मुद्दा दर्ता भएका छन् । 

फागुन निर्वाचनको महिना भएपनि ठूलो घटना केही भएन । निर्वाचनको तीन दिन प्रहरी हिरासत समेत खाली भएको थियो । यद्यपि फागुनमा बलात्कार एक, ज्यान सम्बन्धी दुई, भवितव्य ज्यान सम्बन्धी दुई, आत्महत्या चार र फुटकर एउटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो ।

त्यस्तै फैसला कार्यान्वयन तर्फ तीन जनालाई पक्राउ गरेर तीन वर्ष पाँच महिना १० दिन कैद र तीन लाख जरिवाना असुल गरिएको सारुले जानकारी दिनुभयो ।

फागुनमा मोबाइल हराइएका १२ र साइबर सम्बन्धी एक उजुरी प्रहरीमा परेको छ । प्रहरीका नियमित काम बाहेक निर्वाचन प्रहरी र नेपाल प्रहरीहरूको समन्वयमा सार्वजनिक स्थलको सरसफाइ गरेको, २८६ सवारी कारबाहीमा दुई लाख ८२ हजार राजश्व सङ्कलन भएको, एउटा बेवारिसे बन्दुक बरामद गरेको प्रहरी नाउव उपरीक्षक सारुले जनाउनुभयो । 

फागुन महिनामा १० वटा आगलागीका घटना भएका छन् । गत महिनामा ९३ वर्षकी बुद्धले समेत आत्महत्या गरेकाले चैत महिनाको प्राथमिकतामा आत्महत्या न्यूनिकरण, सवारी दुर्घटना न्यूनिकरण र लागुऔषधको सचेतना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

 उहाँले फागुन महिनामा ठूला घटना तथा दुर्घटना नभई शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नु नै आफूहरूको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । 

जिल्लामा निर्वाचनलाई लक्षित गरेर तीन वटा नयाँ गाडीहरू प्रहरीमा आएका छन् । जिल्ला प्रहरी कार्यालयसहित गुल्मी पश्चिम र इलाकामा वितरणको योजना रहेको अधिकारीले बताउनुभयो ।