• ३ चैत २०८२, मङ्गलबार

मोटरसाइकलको ठक्करबाट तीन बालिका घाइते

blog

अनिल पराजुली

हेटौँडा, चैत ३ गते ।मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–३, हात्तीसुडे बजारमा मोटरसाइकलले ठक्कर दिँदा तीन जना बालिका घाइते भएका छन् ।

धरान–चतरा सडकखण्ड अन्तर्गत सोमबार फापरबारीबाट हात्तीसुडेतर्फ आउँदै गरेको बा. ७० प. ६७११ नम्बरको मोटरसाइकलले विद्यालय जाँदै गरेका पैदल विद्यार्थीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा बकैया गाउँपालिका–३, हात्तीसुडे बस्ने १३ वर्षीया ईशा राई, १४ वर्षीया दिक्षा राई तथा बकैया गाउँपालिका-८, दमास बस्ने १४ वर्षीया जमुना दाहाल घाइते भएका छन् ।

घाइतेमध्ये ईशा राईको टाउको र खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दिक्षा राईको खुट्टा र दाहिने कम्मरमा चोट लागेको छ भने जमुना दाहालको बायाँ आँखामुनि र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि हेटौँडा ल्याइएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता नान्तीराज गुरुङका अनुसार प्रहरी चौकी हात्तीसुडेका प्रहरी नायब निरीक्षक कृष्णकुमार लामाको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ। मोटरसाइकल चालक बकैया गाउँपालिका–३, जलजले बस्ने २३ वर्षीय अर्जुन भोलन घाइते हुनुभएको छ र उहाँको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।