• ८ जेठ २०८१, मङ्गलबार

अहेबको भरमा पालिका

blog

ध्यान कुलुङ

सङ्खुवासभा, साउन ६ गते ।   सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा सङ्घीय सरकार मातहतका कर्मचारी नहुँदा स्वास्थ्यकर्मी (अहेब)ले पालिका धान्नु परेको छ। प्रमुख प्रशासकीय अधिकृत सङ्घअन्तर्गतको अधिकृत हुनुपर्ने भए पनि कर्मचारी नआउँदा स्वास्थ्यकर्मीले पालिका सञ्चालन गर्नुपरेको हो ।

सङ्घअन्तर्गतको अधिकृत ल्याउनका लागि पटक–पटक प्रयास गरे पनि मन्त्रालयले कोही नपठाएपछि स्थानीय स्वास्थ्यकर्मी फुर्पु भोटेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो। अघिल्लो कार्यकालको जनप्रतिनिधिहरूको पालामा समेत अधिकृत नआएपछि विगत तीन वर्षदेखि भोटेले नै गाउँपालिका सञ्चालन गर्दै आएको अध्यक्ष भोटेले जानकारी दिनुभयो। 

आफू निर्वाचित भइसकेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर कर्मचारी माग गरे पनि हालसम्म कोही नपठाएको अध्यक्ष भोटेले बताउनुभयो। मन्त्रालयका सचिवलाई नै भेटेर कर्मचारी माग्दा भोटखोलामा कोही पनि जान नमानेको सचिवले प्रतिक्रिया दिएको अध्यक्ष भोटेले बताउनुभयो। मन्त्रालयका सचिवले कोही मिलाएर पठाइदिने आश्वासन दिए पनि अहिलेसम्म कुनै अधिकृत नआएको जानकारी उहाँले दिनुभयो।

भोटखोला गाउँपालिकाभरि नै चार जना मात्र स्थायी कर्मचारी छन् । त्यसबाहेक पालिकाले करार सेवामा कर्मचारी पदपूर्ति गरेर सेवा प्रदान गर्दै आएको छ। पाँचवटा वडा रहेको भोटखोला गाउँपालिकामा एक जना वडा सचिवले सबै वडाको काम गर्दै आएको छ। वडा सचिवको जिम्मेवारी स्थायी कर्मचारीले मात्र बहन गर्नुपर्ने हुँदा गाउँपालिकाको कर्मचारी दावा लामालाई सबै वडाको जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिनुभयो। 

भोटखोला गाउँपालिकामा कोही पनि कर्मचारी नआउने र आएपनि लामो समय नबस्ने हुँदा सेवा दिन समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भोटेले बताउनुभयो। “टाढाको कर्मचारी राम्रो हाजिर हुन नपाई सरुवापत्र आइपुग्छ,” भोटेले भन्नुभयो “यस्तो अवस्थामा राम्रो सेवा कसरी दिन सक्छौँ र !” गाविस सचिव हुँदै प्रशासन क्षेत्रको अनुभव भएकोले प्रशासकीय काममा समस्या नभए पनि पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाह भने जस्तो दिन नसकेको प्रमुख प्रशासकीय अधिकृत भोटेले बताउनुभयो।

भोटखोला गाउँपालिका मित्र राष्ट्र चीनको सीमा क्षेत्रसँग जोडिएको स्थानीय तह हो । जिल्ला सदरमुकाम खाँदबारीबाट यो पालिकाको केन्द्र हटिया पुग्न दुई दिन लाग्छ। बिहानै गाडी चढेपछि साँझ वरुण दोभानसम्म पुगिन्छ। त्यहाँबाट पैदल मार्ग हुँदै 

दोस्रो दिन हटिया पुगिन्छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारलगायतको सुविधा नभएपछि यस गाउँपालिकामा कर्मचारीहरू जान मान्दैनन् ।