अस्ताना, कजाकिस्तान, पुस २७ गते । कजाकिस्तानको एक अदालतले क्यास्पियन सागर मुनि रहेको विशाल तेल क्षेत्रबाट अत्यधिक ग्यास निकासी गरेकोमा तेल उद्योगहरूको एक सङ्घलाई शुक्रबार करिब छ करोड डलर भन्दा बढी जरिवाना गरेको छ ।
मध्य एसियाली देशले हालैका वर्षहरूमा वातावरणीय उल्लङ्घन गर्नेहरूलाई सजाय बढाएको छ । विशाल कासागन तेल क्षेत्रमा अत्यधिक अनाधिकृत ‘फ्ल्यारिङ’का लागि छ करोड ६० लाख जरिवाना गरिएको थियो । फ्ल्यारिङ भनेको तेल ड्रिलिङ्गको क्रममा जमिनबाट निस्कने अतिरिक्त ग्यासलाई जलाउनु हो ।
यो सुरक्षा कारणहरूका लागि गरिन्छ तर प्रक्रियाले प्रायः हानिकारक वातावरणीय प्रदूषकहरूलाई हावामा छोड्छ । नर्थ क्यास्पियन अपरेटिङ कम्पनीका अनुसार कासागन तेल भण्डार हालैका दशकहरूमा सबैभन्दा ठुलो तेल खोजहरू मध्ये एक हो, जसमा करिब नौ देखि १३ अर्ब ब्यारेल पुनःप्राप्त गर्न सकिने तेल रहेको छ । रासस/एएफपी