केदार तिमल्सिना
बनेपा, चैत २ गते । गत वर्षको रोसी खोलाको बाढीबाट क्षतिग्रस्त भएको बिपी राजमार्गको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको छ । सडक डिभिजन भक्तपुरले आगामी वर्षाको समयमा राजमार्गबाटै नियमित सवारी सञ्चालन गरिने जनाएको छ ।
बिपी राजमार्ग पुनर्निर्माणको पछिल्लो अवस्थाबारेमा आइतबार जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको टोलीले अनुगमन गरेको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आगामी बर्सातअघि नै जोखिमपूर्ण स्थानमा सडक स्तरोन्नति र सडक मर्मत काम पूरा गरी सडक मार्गबाट सवारी सञ्चालन गर्नका लागि पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो ।
अनुगमनका व्रmममा क्षतिग्रस्त बनेको बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा सडकको काम सन्तोषजनक रूपमा भएको बताउँदै प्रजिअ अधिकारीले कामको तीव्रता हेर्दा वर्षाको समयमा सवारीसाधन खोलाबाट नभई राजमार्गबाट गुड्ने विश्वास व्यक्त गर्नुभयो ।
सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले गत वर्षको बाढीबाट क्षति भएको बिपी राजमार्ग पुनर्निर्माणको काम चार खण्डमा विभाजन गरी सुरु गरिएको जानकारी दिँदै तीन चरणको काम सुरु भए पनि जाइकाले गर्ने पुनर्निर्माण गर्ने खण्डको काम भने सुरु हुन नसकेको बताउनुभयो । उहाँले हाल सुरु गरिएको खण्डको काम हेर्दा औसतमा २५ प्रतिशत काम भएको बताउनुभयो ।
उहाँले हाल राजमार्गका पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किलोमिटर सडक, डालाबेँसीदेखि चार सयबेँसीसम्मको ८.५ किलोमिटर र चार सयबेँसीदेखि भकुन्डेबँेसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माण भइरहेको बताउनुभयो । “बिपी राजमार्ग पुनर्निर्माण अन्तर्गत हालसम्म पिप्लेदेखि डालाबेँशीसम्ममा २० प्रतिशत, डालाबँेशीदेखि चार सयबेँशीसम्म २६ प्रतिशत र चार सय बेँसीदेखि भकुन्डेबँेसीसम्मको खण्डमा २५ प्रतिशत काम सम्पन्न भएको छ,” उहाँ योगेशले भन्नुभयो । उहाँले हाल बाटो दुई लेन चौडा गर्ने, टेवा पर्खाल, आरसिसी पर्खाल, ढुङ्गाको पर्खाल, ग्याबिन पर्खाल, पल्म्प वाल लगाउने काम भइरहेको बताउनुभयो । उहाँले राजमार्ग पुननिँर्माण अन्तर्गत तीन खण्डमा छ मिटरदेखि ११ मिटरसम्मको ६.३ किलोमिटर आरसिसी पर्खाल लगाइने बताउनुभयो । राजमार्ग पुनर्निर्माणका लागि चौकीडाँडा, चार सय बेँसी, घुमाउनेघाट, बोक्सीकुना, चिउरीबास, कालढुङुगा, पिप्ले–बर्खेखोला जोखिमयुक्त स्थानका रूपमा पहिचान गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ । योगेशले आगामी वर्षायामअघि जोखिमयुक्त स्थानमा पूर्वाधार (स्ट्रक्चर) निर्माण गरिसक्ने र वर्षाको समयमा खोलाबाट नभई राजमार्गबाट सवारी सञ्चालन गर्ने गरी कामलाई अघि बढाइएको बताउनुभयो ।
उहाँले बाढीबाट क्षति भएको राजमार्गको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडकलाई दुई लेनमा विस्तार गरिने बताउनुभयो । उहाँले जाइकाले पुननिर्माण गर्ने बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने जानकारी दिनुभयो । उहाँले निर्माण व्यवसायीको कार्य तालिम अनुसार दुई वर्षभित्र सडक पुनर्निर्माण सकिनेअवस्था रहेको बताउनुभयो ।