बाजुरा समाचारदाता
बाजुरा, चैत १ गते । बाजुराको बडीमालिका–४ को ओलेनाबस्ती कुनैबेला जिल्लाकै राम्रो कृषि उत्पादनका क्षेत्रमा प्रख्यात ठाउँ हो ।
सिरानमा सिँचाइ कुलोको राम्रो व्यवस्था भएको र मुनिमा समथर खेतीयोग्य जमिन भएकोले यहाँका बासिन्दाले यो ठाउँमा राम्रो तरकारी उत्पादन गर्ने गर्थे ।
ओलेनावासीले उत्पादन गरेको तरकारी जिल्लाको मार्तडी बजारको चोक चोकमा बिक्री हुने गथ्र्यो । तरकारी खेतीले नै यहाँका स्थानीयको जीविकोपार्जन हुने गथ्र्यो ।
२०७६ साल बुढीगङ्गा नदीमा आएको बाढीले ओलेनावासीको सबै जमिन बगरमा परिणत भयो । यहाँका स्थानीयले तरकारी गर्ने सबै जमिन यसरी बगर बनेपछि अहिले उनीहरूलाई तरकारी खेती गर्ने जमिनको निकै अभाव परेको छ ।
बडीमालिका नगरपालिका–४, ओलेनाका कृषक देवबहादुर नाथले, “ओलेनामा आफ्नो धेरै जमिन थियो । त्यो सबै जमिनमा तरकारी तथा फलफूल खेती गर्थें । अहिले सबै जमिन बगरमा परिणत भएपछि तरकारी खेती गर्न जमिनको निकै अभाव भएको बताउनुभयो ।”
उहाँले भन्नुभयो, “धान, गहुँ तथा अन्नबालीभन्दा पनि तरकारी खेती लगाउने गर्थें । त्यसैले परिवार पाल्ने गरेको थिएँ । अहिले त्यो सबै जमिन बगर बनेपछि कसरी बालबच्चा पाल्ने भन्ने निकै चिन्ता लागेको छ । ”
साँफे मार्तडी राजमार्गको मुनि ओलेना बस्ती रहेको र यो बस्तीका किसानले लगाएको तरकारी सबैले हेर्ने गरेका थिए । अहिले नदीले बगर बनाएपछि यसलाई व्यवस्थापन गर्न कसैल ध्यान दिएका छैनन् । यहाँका स्थानीयको खेती लगाउने जमिन बगर तथा बस्ने घर पनि बुढीगङ्गा नदीको निकै जोखिममा पर्ने गरेकोले कता गएर बस्ने भन्ने चिन्ता लागेको नाथले बताउनुभयो ।
पछिल्लो समय ओलेनाबस्ती विस्तारै खाली हुने अवस्थामा पुगेको छ । पहिला यहाँ १६ भन्दा बढी नाथको परिवारको बसोबास थियो । २०७६ सालमा आएको बाढीले यहाँका स्थानीयले खेती गरी खाने जमिन सबै बगर बनाएपछि अहिले यहाँका केही परिवारको उठिबास भएको छ ।
उनीहरू अहिले कोही गाउँकै पाटातिर र केही परिवार सहर झरेका छन् । कुनैबेला तरकारीको केन्द्र भनेर चिनिँदै आएको ओलेना अहिले यसो हेर्दा निकै उजाड मरुभूमि जस्तै देखिन थालेको छ ।
अहिले यहाँ १३ परिवारको बसोबास छ । यी परिवार पनि नदी कटानको जोखिममा रहेका छन् । उहाँहरूले सरकारसँग घरबासको माग गर्दै आएको भए पनि कतैबाट व्यवस्था हुन सकेको छैन ।
ओलेनाको पाथरकोट आविका शिक्षक कमल नाथले २०७६ साउन भदौमा बुढीगङ्गा नदीमा आएको बाढीले ओलेनावासीको तरकारी खेती गर्ने सबै जमिन बगर बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाजुराको सदरमुकाम मार्तडी बजारको पसल पसलमा राखेर बिक्री हुँदै आएको तकारी यसै ओलेनाबाट जाने गथ्र्यो । ओलेनावासीको मुख्य पेसा पनि तरकारी खेती नै थियो ।”
अहिले ओलेनावासीको तरकारी तथा फलफूल खेती गर्ने सबै जमिन नदीले बगाइदिएपछि यहाँका स्थानीयलाई जमिनको अभाव हुन थालेको छ । ओलेनावासीलाई खेती लगाउने जमिन र घरबासकै समस्या हुने गरेको नाथले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा विपत् व्यवस्थापन समितिका संयोजक डोरेन्द्र निरौलाले, ओलेनाको तरकारी लगाउने जमिन र सबै नदीको जोखिममा परेकोले बस्ती स्थानान्तरण गर्न सम्बन्धित निकायलाई समन्वय गर्दै आएको बताउनुभयो ।