• १३ साउन २०८१, आइतबार

नगर प्रहरी क्विक रेस्पोन्स टिमका पाँच विद्युतीय स्कुटर सञ्चालनमा

blog

ललितपुर, साउन ५ गते । ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।

बिहीबार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर पाँच वटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।

महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाएको छ । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गर्नुभयो ।

प्रमुख महर्जनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दाबी गर्नुभयो । उहाँले क्विक रेस्पोन्स टिमलाई यी बाइक महानगरभित्र तत्काल केही समस्या पर्दा सो क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताउनुभयो । सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्त्व राख्ने भएकोले सानो काम भए पनि महत्वपूर्ण काम गरेको उहाँले उल्लेख गर्नुभयो ।

पाटन शहर २४ सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्त्व पनि त्यत्तिकै हुने भएकोले सिसिटिभी जडानको काम भइरहेको बताउनुभयो ।

महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने काम भइरहेको प्रमुख महर्जनको भनाइ छ । उहाँले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने पनि बताउनुभयो ।