• २७ फागुन २०८२, बुधबार

बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि

blog

बेइजिङ, फागुन २७ गते । घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुवात उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ । आधिकारिक तथ्याङ्क अनुसार सन् २०२६ को पहिलो दुई महिनामा चीनको कुल व्यापार करिब २० प्रतिशतले बढेको छ । यद्यपि अमेरिकातर्फको निर्यात घटे पनि अन्य प्रमुख बजारमा भएको वृद्धिले त्यसको भर्पाई गरेको छ ।

मङ्गलबार सार्वजनिक गरिएको भन्सारको सामान्य प्रशासनको तथ्याङ्कले जनवरी/फेब्रुअरी अवधिमा चीनको निर्यात २१.८ प्रतिशतले बढेको देखाएको छ । यस वृद्धि अर्थशास्त्रीले गरेको ७.२ प्रतिशतको पूर्वानुमानभन्दा निकै माथि हो ।

घरेलु उपभोक्ता गतिविधि सुस्त हुँदै गएको अवस्थामा निर्यातमा आएको यो वृद्धि विश्वको दोस्रो ठुलो अर्थतन्त्रका लागि महत्वपूर्ण सहारा बनेको छ । यसले गत वर्ष हासिल गरिएको चीनको रेकर्ड व्यापारलाई थप विस्तार गरेको छ ।

पहिलो दुई महिनाको व्यापार तथ्याङ्क सामान्यतया चन्द्र नयाँ वर्षको बिदाका कारण हुने उतार चढावलाई समेटेर संयुक्त रूपमा सार्वजनिक गरिन्छ । यस पटकको तथ्याङ्कले पश्चिम एसियामा युद्ध सुरु हुनुअघि नै चीनको अर्थतन्त्रले सन् २०२६ को सुरुवात बलियो ढङ्गले गरेको सङ्केत दिएको छ ।

क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री जिचुन हुआङका अनुसार हालै अमेरिकी भन्सार शुल्कमा आएको कमी र सेमिकन्डक्टरप्रतिको उच्च मागका कारण चीनको निर्यात अझै केही समय बलियो रहन सक्ने सम्भावना छ ।

यद्यपि चीनको बढ्दो व्यापार अधिशेषलाई लिएर उसका प्रमुख व्यापारिक साझेदारले चिन्ता व्यक्त गर्दै आएका छन् । चिनियाँ उत्पादनले स्थानीय उद्योगमा प्रतिस्पर्धात्मक दबाब बढाइरहेकाले उनीहरूले बेइजिङलाई आफ्नो व्यापार असन्तुलन घटाउन दबाब दिइरहेका छन् ।

भन्सार तथ्याङ्कले दुई महिनाको अवधिमा चीनबाट अटोमोबाइल, कपडा तथा घरेलु उपकरण जस्ता उत्पादनको निर्यात उल्लेखनीय रूपमा बढेको देखाएको छ । यो तथ्याङ्क चीनका शीर्ष नेताहरू वार्षिक राजनीतिक बैठकमा सहभागी भइरहेका समयमा सार्वजनिक भएको हो । गत हप्ता सरकारले दशकौँयताकै सबैभन्दा न्यून आर्थिक वृद्धिदर लक्ष्य घोषणा गरेको थियो ।

चीनको अर्थतन्त्रका प्रमुख चुनौतीमध्ये घरेलु खर्चमा लामो समयदेखि देखिएको मन्दी पनि एक हो । महामारी समाप्त भएपछि पनि उपभोक्ता खर्च अपेक्षा अनुसार पुनः उकासिन सकेको छैन तर आयाततर्फ भने केही सुधार देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार जनवरी/फेब्रुअरीमा चीनको आयात १९.८ प्रतिशतले बढेको छ । यो ‘ब्लुमबर्ग’ सर्वेक्षणले अनुमान गरेको सात प्रतिशतभन्दा निकै माथि हो । यससँगै गत महिना उपभोक्ता मूल्य तीन वर्षयताकै तीव्र गतिमा बढेको तथ्याङ्क पनि सार्वजनिक भएको थियो ।

अर्कातर्फ अमेरिकातर्फको चिनियाँ निर्यात भने ११ प्रतिशतले घटेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर अभियानलाई तीव्र बनाएपछि यस्तो गिरावट देखिएको हो ।

गत वर्ष बेइजिङ र वासिङ्टनबिच व्यापार युद्ध चर्किएको थियो । त्यसबेला केही सामानमा तीन अङ्कसम्मका पारस्परिक कर लगाइएका थिए । यद्यपि यसै महिनाको अन्त्यतिर ट्रम्प चीन भ्रमणमा जाने तयारीमा रहेका कारण दुई देशबिचको तनाव केही कम हुने आशा गरिएको छ ।