• २६ फागुन २०८२, मङ्गलबार

कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

blog

जिल्ला प्रशासन कार्यालयको प्रशासनिक भवन । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलबस्तु), फागनु २६ गते । बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न जिल्ला प्रशासन कपिलबस्तुे आग्रह गरेको छ । प्रशासनले कृत्रिम अभाव सिर्जना भएको भन्ने गुनासो बढेपछि ग्यासको भण्डारण, आपूर्ति तथा बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायी तथा डिलरहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेको हो ।

प्रशासनका अनुसार पछिल्लो समय जिल्लाका विभिन्न बजार क्षेत्रमा एलपी ग्यास सहज रूपमा उपलब्ध नभएको तथा कृत्रिम अभाव सिर्जना गरिएको भन्ने सूचना र जनगुनासो प्राप्त भएपछि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको हो । उपभोक्ताले दैनिक रूपमा प्रयोग गर्ने अत्यावश्यक वस्तु भएकाले ग्यासको आपूर्ति नियमित र सहज हुनुपर्ने प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कसैले ग्यास लुकाईछिपाई भण्डारण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा बढी मूल्यमा बिक्री गर्ने जस्ता गतिविधि अमानवीय र प्रचलित कानुनविपरीत हुने जनाएको छ ।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले उद्योगी व्यवसायी तथा डिलरहरूलाई जिम्मेवार भएर ग्यासको भण्डारण र वितरण व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनेतर्फ सबै सरोकारवालाले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

सहायक प्रजिअ घिमिरेले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाएर भण्डारण गर्ने वा चर्को मूल्यमा बिक्री गर्ने गतिविधि पाइएमा कडा कारबाही गरिने चेतावनी दिनुभयो । त्यस्ता कार्यमा संलग्न पाइएमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।