शंकर केसी
शारदा (सल्यान), फागुन २५ गते । सल्यान जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको धरौटी जफत हुने भएको छ ।
निर्वाचन कानुन अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । प्राप्त मतपरिणाम अनुसार चार जना उम्मेदवारले मात्र सो सीमा पार गर्दै धरौटी जोगाउन सफल हुनुभएको छ ।
निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका रमेश कुमार मल्लले २३ हजार १८९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २० हजार ९०४ मत, नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत र नेकपा एमालेका गुलाबजंग शाहले १५ हजार ३७३ मत प्राप्त गर्दै धरौटी जोगाउनुभएको छ ।
यस निर्वाचनमा जिल्लामा १ लाख ६२ हजार ४४९ मतदाता रहेका थिए । तीमध्ये ८३ हजार १६७ मत खसेको थियो । खसेको मतमध्ये ७९ हजार ७०९ मत सदर भएको छ भने ३ हजार ४५८ मत बदर भएको छ ।
सदर मत ७९ हजार ७०९ भएकाले धरौटी जोगाउन उम्मेदवारले कम्तीमा ७ हजार ९७१ मत ल्याउनुपर्ने हुन्छ । १० प्रतिशत मत कटाउन नसक्ने १० जना उम्मेदवाररूको धरौटी जफत हुने भएको मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले बताउनुभयो ।
९४३ मत ल्याउने नेकपा माओवादीका चन्द्र बहादुर खड्का, ९०२ मत ल्याउने राप्रपाकी अनिमा नेपाली, २२२ मत ल्याउने नेशनल रिपब्लीक नेपालका डिल्लीबहादुर घर्ती, १५० मत ल्याउने श्रम संस्कृती पार्टीका धन बहादुर बुढामगर, १२० मत ल्याउने स्वतन्त्र उम्मेदवार ध्रुवराज वली, ११९ मत ल्याउने राष्ट्रिय जनमोर्चाकी कमला डाँगीको धरौटी जफत हुनेभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी ९९ मत ल्याउने संयुक्त नागरिक पार्टीका कालिदास विक, ६६ मत ल्याउने नेमकिपाका लाल बहादुर थापा क्षेत्री, ५२ मत ल्याउने मंगोल नेशनल अर्गनाइजेशनका बालासिंह घर्ती र १२ मत ल्याउने स्वतन्त्र उम्मेदवार जुद्धबहादुर सिंहको धरौटी जफत हुने भएको हो ।