• २५ फागुन २०८२, सोमबार

सामाजिक अभियानबाट राजन गौतम संसद्सम्म

blog

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम ।

मध्यविन्दु (नवलपरासी),  फागुन २५ गते । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानमार्फत स्थापित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । 

हालै सम्पन्न निर्वाचनमा ५० हजार ९४५ मत प्राप्त गर्दै संसद् पुग्नुभएका गौतमले नेपाली कांग्रेसका बालकृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गर्नुभएको थियो ।

देवचुली नगरपालिका–१६, रजहर निवासी गौतम विसं २०४३ असोज १० गते जन्मनुभएको हो । बुबा पूर्णप्रसाद गौतम र आमा जितकुमारी गौतमका सन्तान उहाँ पारिवारिक तथा सामाजिक जीवनसँगै सार्वजनिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । 

शिक्षालाई समाज रूपान्तरणको आधार मान्ने गौतमले शिक्षाशास्त्र, व्यवस्थापन शास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । हाल उहाँ विद्यावारिधि (पिएचडी) अध्ययनरत हुनुहुन्छ । शैक्षिक क्षेत्रमा उहाँको लामो अनुभव रहेको छ । देवचुली कलेज रजहरमा विसं २०७१ देखि २०७७ सम्म क्याम्पस प्रमुखका रूपमा कार्यरत रहँदा उहाँले कलेजको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

युवा नेतृत्व र उद्यमशीलताका क्षेत्रमा पनि उहाँ सक्रिय रहनुभएको छ । युवा प्रतिभा तथा युवा उद्यमी सञ्जालका केन्द्रीय उपाध्यक्ष रहनुभएका गौतम रजहर जेसिज–२०२० का अध्यक्ष तथा नेपाल जेसिजका पूर्व केन्द्रीय उपाध्यक्ष (२०२१) रहनुभएको छ । 

जेसिजमार्फत नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवा सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै उहाँले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म युवालाई सङ्गठित गर्ने प्रयास गर्नुभएको थियो ।

साथै सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको सञ्चालक समिति सदस्यका रूपमा स्वास्थ्य क्षेत्रमा पनि योगदान दिनुभएको छ । विभिन्न विद्यालयमा शिक्षक तथा शैक्षिक संस्थामा प्रशासनिक जिम्मेवारी सम्हाल्दै उहाँले शिक्षा क्षेत्रसँगको सम्बन्ध निरन्तर कायम राख्नुभएको छ ।

युवा र सामाजिक क्षेत्रमा गरेको योगदानका आधारमा उहाँलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८’ बाट सम्मानित गरेको थियो ।

राजनीतिक रूपमा सक्रिय गौतम राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभापति रहनुभएको छ । नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्दै सुशासन, पारदर्शिता र विकासको मुद्दा उठाउँदै आउनुभएका गौतमलाई यसपटक नवलपरासी (बर्दघाट सुस्तापूर्व) –१ का मतदाताले प्रतिनिधिसभामा पठाएका छन् ।

स्थानीय तहदेखि शिक्षा, युवा अभियान र सामाजिक क्षेत्रको अनुभव बोकेर सङ्घीय संसदमा पुग्नुभएका गौतमले जिल्लाको विकास, रोजगारी सिर्जना र शिक्षा सुधारलाई प्राथमिकतामा राख्ने बताउँदै आउनुभएको छ । स्थानीय सरोकारसँग नजिक रहेर सार्वजनिक जीवन बिताएको उहाँको राजनीतिक यात्राले अब सङ्घीय संसदमा नयाँ जिम्मेवारी पाएको छ । रासस