• २५ फागुन २०८२, सोमबार

सर्लाहीमा पुराना पराजित, नयाँ अनुहारको उदय

blog

सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन २५ गते ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सर्लाहीमा नयाँ अनुहारहरूको उदय भएको छ।

चार निर्वाचन क्षेत्र रहेको सर्लाहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्विप’ गरेको छ। चारमध्ये तीन क्षेत्रमा नयाँ अनुहार सांसद बनेका छन् भने डा. अमरेशकुमार सिंह मात्र दोहोरिएर निर्वाचित हुनुभएको छ।

रोचक पक्ष के छ भने सर्लाहीबाट चुनाव जितेर संसद् पुग्ने लक्ष्य राखेका मुलुकका शीर्ष नेताहरूले यसपटक पराजय बेहोर्नुपरेको छ। यसअघि पनि सर्लाहीबाट नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा तथा महन्थ ठाकुरजस्ता नेता पराजित भएको इतिहास छ।

उम्मेदवारी दर्तापछि चर्चित
सर्लाही क्षेत्र नम्बर १ मा एक जना संविधानसभा सदस्य र दुई जना प्रतिनिधिसभा सदस्यलाई पराजित गर्दै रास्वपाकी नीतिमा भण्डारी कार्की निर्वाचित हुनुभएको छ।

उम्मेदवारी दर्ताकै दिन एकाएक चर्चामा आउनुभएकी कार्कीले दुई दशकदेखि राजनीतिमा सक्रिय नेताहरूलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो। लालबन्दी नगरपालिका–१ नवलपुरमा हुर्किएर विवाहपछि काठमाडौं महानगरपालिका–९ सिनामंगलमा बस्दै आउनुभएकी कार्कीले सर्लाही–१ बाट अहिलेसम्मकै सर्वाधिक ४४ हजार १८१ मत प्राप्त गर्दै संसदीय यात्रा तय गर्नुभएको छ।

स्नातक तहसम्म अध्ययन गर्नुभएकी ४३ वर्षीया कार्की श्रीमान् चेतन भण्डारीसँग होटल व्यवसायमा आबद्ध हुनुहुन्छ। भण्डारी दम्पतीले लामो समयदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँ तथा विदेशमा ‘बाजेको सेकुवा’ नामक फ्रेन्चाइज रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कार्कीले सर्लाही–१ मा शिक्षा, स्वास्थ्य, सिँचाइ र रोजगारीलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

‘मधेशको मसिहा’ पराजित
सर्लाही क्षेत्र नम्बर २ मा आफूलाई ‘मधेशको मसिहा’ भन्ने राजेन्द्र महतो र महेन्द्र राय यादवजस्ता पुराना नेताहरूलाई पराजित गर्दै ३८ वर्षीय रबीन महतो निर्वाचित हुनुभएको छ।

रास्वपाबाट उम्मेदवारी दिएपछि चर्चामा आउनुभएका कविलासी नगरपालिका–१० सलेमपुर निवासी महतोले कक्षा १२ सम्म अध्ययन गर्नुभएको छ। उहाँ चुनावअघि सामान्य पृष्ठभूमिका युवा हुनुहुन्थ्यो।

४२ हजार ५१२ मतसहित निर्वाचित महतोले सुशासन कायम गर्दै कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ।

२०७० सालदेखि सर्लाही–२ मा लगातार चुनाव जित्दै पटक–पटक मन्त्री बन्नुभएका महेन्द्र राय यादव यसपटक भने रबीन महतोसँग ३३ हजार ९८९ मतान्तरले पराजित हुनुभयो। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो भने पाँच हजार ९९२ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित हुनुभयो र जमानतसमेत जोगाउन सक्नुभएन।

तेस्रो प्रयासमा सांसद
सर्लाही क्षेत्र नम्बर ३ मा तेस्रो प्रयासमा रास्वपाका नरेन्द्र साह कलवार सांसद बन्न सफल हुनुभएको छ।

२०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार हुँदा नेकपा एमालेका हरिप्रसाद उप्रेतीसँग ७७० मतले पराजित हुनुभएका साहले यसपटक भने उप्रेतीलाई चौथो स्थानमा पुर्‍याउँदै भारी मतान्तरले विजय हासिल गर्नुभएको छ।

साहले गोरखा छाडेर सर्लाही–३ मा चुनाव लड्न आउनुभएका नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पनि फराकिलो मतान्तरले पराजित गर्नुभएको छ। साहले ४६ हजार ८९० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गर्नुभयो।

व्यापार–व्यवसायमा आबद्ध साह २०७४ मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दा पनि १२ हजार मत ल्याउन सफल हुनुभएको थियो। बरहथवा नगरपालिका–११ हीरापुर निवासी साह लामो समयदेखि सामाजिक तथा आर्थिक सहयोगका कार्यमा सक्रिय रहँदै आउनुभएको छ।

अमरेशसँग गगनको पराजय
यस निर्वाचनमा सर्वाधिक चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका डा. अमरेशकुमार सिंह चौथो पटक निर्वाचित हुनुभएको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिस्पर्धामा आएपछि सिंह कमजोर हुने आँकलन गरिएको थियो। तर उहाँले अघिल्ला निर्वाचनभन्दा अझ बढी मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो। सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत प्राप्त गर्नुभयो।

विश्लेषकहरूका अनुसार मधेशमा रास्वपाको प्रभाव बढ्दै गएको अवस्थामा सिंहले ‘हेभीवेट’ नेता मानिएका थापालाई पराजित गर्दै आफ्नो प्रभाव थप बलियो बनाएको प्रमाणित भएको छ। सिंह २०७० र २०७४ मा नेपाली कांग्रेसबाट तथा २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो।

हारपछि बधाई
सर्लाही–४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहलाई प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बधाई दिनुभएको छ।

थापाले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफूलाई मत दिने मतदाताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै, यस क्षेत्रका समस्याको समाधानका लागि आफ्नो पहल निरन्तर रहने प्रतिबद्धता पनि जनाउनुभएको छ।

अमरेशद्वारा धन्यवाद
नवनिर्वाचित सांसद सिंहले पनि आइतबार साँझ सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै गगनकुमार थापालाई सर्लाही आएर चुनाव लडेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले भ्रष्टाचारमुक्त देश निर्माणका लागि सहकार्य गर्न नेपाली कांग्रेसलाई आह्वान गर्नुभएको छ।