• २६ फागुन २०८२, मङ्गलबार

सल्यानमा समानुपातिकतर्फ नेकपा अग्रस्थानमा

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, फागुन २४ गते । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सल्यान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिकतर्फको मतगणनामा नेपाली कम्युनिष्ट पार्टी अग्रस्थानमा देखिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टीले ९ हजार ६६९ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार ४५१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी नेकपा (एमाले) ले ६ हजार ३३० मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले ५ हजार ११६ मत पाएको कार्यालयले जनाएको छ।

अन्य दलमध्ये जनता समाजवादी पार्टी, नेपालले ७३ मत, जनमत पार्टीले ६० मत, राष्ट्रिय जनमोर्चाले ३७ मत, प्रगतिशील लिबरल पार्टीले ५१ मत र नेपाल मजदुर किसान पार्टीले ९ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (माओवादी केन्द्र) ले ४७३ मत प्राप्त गरेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्रमा कुल १ लाख ६२ हजार ५४५ मतदाता रहेका छन्। तीमध्ये ८३ हजार १६७ मत खसेको थियो। हालसम्म ३२ हजार ९५४ मत गणना सम्पन्न भएको छ। गणना भएको मतमध्ये ३१ हजार ६५० मत सदर र १ हजार ३०४ मत बदर भएको कार्यालयले जनाएको छ।