हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन २४ गते । बाख्लो हिउँ जमेर तीन महिनादेखि अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ जोड्ने सडक नियमित गर्न प्रमुख जिल्ला अधिकारी अतिजा शर्माले निकै मेहनत गर्नुभयो ।
चिसो छल्न गाउँ छोडेका स्थानीय चुनावमा मत हाल्न गाँउ फर्किन नपाएपछि मतदान केन्द्र नै सार्नुपर्ने अवस्थामा सुरक्षा समितिबाट निर्णय गरी सडक डिभिजन कार्यालय बागलुङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहयोगमा करिब एक साता लगाएर हिउँ पन्छाउन सफल हुनुभयो ।
गाउँमा मतदातालाई छिमेकी गाउँको मतदान केन्द्रमा मत हाल्नबाट प्रजिअ शर्माको स्थानीय जनप्रतिनिधिसँग मिलेर गरेको प्रयासको प्रशंसा भइरहेको छ ।
करिब सात किलोमिटर सडकमा १४ फिटअग्लो पहाड बनेको हिउँ फुटाउने मात्रै काम भएन जिल्लाकै अति विकटमध्येमा पर्ने गाउँका मतदाताको मतदान केन्द्रमा उत्साहजनक सहभागिता समेत देखियो ।
मौन अवधिमा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै टायर बालेर अशान्त बनेको मुस्ताङलाई निर्वाचनको लयमा फर्काउन प्रजिअ शर्माको नेतृत्वदायी भूमिका देखियो ।
गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा निर्वाचन सम्पन्न गरी प्रजिअ शर्माले आफ्नो जिम्मेबारी मात्रै पूरा गर्नुभयो ।
भौगोलिक विकटता, मौसमी जटिलताका कारण समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेका मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न प्रजिअ शर्माले स्वास्थ्य र प्राविधिक पक्षलाई समेत स्थानीय साधनस्रोतबाट मजबुत बनाउनुभयो ।
मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा विभाजन गरी एकीकृत सुरक्षा योजनाबाहेक पनि ३९ मतदान केन्द्रमा देखिएका समस्या समाधानका लागि सुरक्षा समितिबाट थप निर्णय गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको भन्दै जिल्लाका राजनीतिक दल, उम्मेदवारले समेत प्रजिअ शर्मालाई धन्यवाद दिनुभएको छ ।
मुस्ताङमा निर्वाचनको माहोल बुझ्न जानुभएकी प्रधानमन्त्री सुशीला कार्कीले प्रजिअ शर्मा र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा दुबै महिनाको नेतृत्वमा हुन लागेको निर्वाचनले देशभर सन्देश प्रवाह गर्ने बताउनुभएको थियो ।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले निर्वाचनलाई सफल बनाउन प्रजिअ शर्माबाट भएका सहज प्रक्रियाले निकै सहज भएको बताउनुभयो ।
निर्वाचन अधिकारी ज्ञवालीले भन्नुभयो,‘‘शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने आवश्यक सबै प्रक्रियामा खेल्नुभएको भूमिकाको शब्दमा बयान गर्न सकिदैन, निर्वाचन सफल बनाउन सबैको साथ चाहिन्छ, त्यो जुटाउन सक्ने क्षमता उहाँमा छ ।’’
जिल्लाभित्र निर्वाचनसँगै अनेक समस्यामा कार्यकक्षभन्दा फिल्डमै पुगेर समाधानका लागि प्रजिअ शर्मा सक्रिय हुनुहुन्छ । मुख्य निर्वाचन अधिकृत विद्यानाथ पौडेलले प्रजिअ शर्माको नेतृत्वमा सुरक्षा निकायबाट भएको सहयोगले मनोनयदर्तादेखि मतगणनासम्म कुनै समस्या नभएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सहायक प्रजिअको अनुभवसँगै पहिलोपटक प्रजिअ भएर हिमाली जिल्लामा आउनुभएकी शर्माले कामको मुल्याकंन गर्ने जिम्मा मुस्ताङबासीको भएको बताउनुभयो ।
प्रजिअ शर्माले भन्नुभयो,‘‘मैले नेपाल सरकारले दिएको जिम्मेबारीलाई खटिएर पूरा गर्छु, निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न पाएकोमा निकै खुसी लागेको छ ।”
प्रजिअ शर्माले मुस्ताङमा पर्यटकदेखि स्थानीयका सेवा, कार्यसम्पादनमा समेत उत्कृष्ट बनाएर जिल्लाबासीलाई सधै सम्झिन लायक बनाउने बताउनुभयो ।
निर्वाचन नजिक देखिएका भौगोलिक, मौसमी चुनौती र अनेक अवरोधलाई चिर्न सफल भएको बताउँदै निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, मतदाता, पत्रकार लगायत जिल्लावासीलाई धन्यवाद समेत दिनुभएको छ ।