इमान सिं राना
रामपुर (पाल्पा), फागुन २४ गते । २०४८ को आम निर्वाचनमा पाल्पाको साविक तीन वटै क्षेत्रमा जित निकाल्न सफल भयो । ०४६ को जनआन्दोलन पश्चात भएको निर्वाचनमा कांग्रेसले देशभरबाट बहुमत ल्याउँदै गर्दा २०५१ र २०५६ मा भने एमालेसँग तीनै स्थानमा पराजित भएको थियो ।
१० वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलन पश्चात भएको २०६४ को होस् वा ०७० को संविधान सभा निर्वाचन । क्षेत्र नं. १ बाहेक अन्य क्षेत्रमा फरक फरक दलले जित निकाल्दै आए पनि पाल्पा–१ एमाले निरन्तर विजयी हुँदै आएको थियो । २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि फराकिलो मतान्तरसहित एमालेले नै जित हात पार्दै आएको क्षेत्र हो पाल्पा–१ । तीन दशक देखि जित्दै आएको पाल्पा–१, एमालेको देशभरमा सुरक्षित मानिने निर्वाचन क्षेत्रको रूपमा चिनिँदै आएको थियो । तर जेनजी आन्दोलन पश्चात गत बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट सन्दीप राना विजयी हुनुभएको छ ।
दलीय गठबन्धनमा पनि ठुलो मतान्तरसहित कांग्रेस पराजित हुँदै आएको क्षेत्रमा ३८ वर्षीय राना विजयी हुनु भएको हो । जितसँगै रानाले ३१ वर्ष देखिको एमालेको विरासत भत्काउँदै ३४ वर्ष अघिको कांग्रेसको विरासत फिर्ता ल्याउन सफल हुनुभएको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा फराकिलो मतान्तरसहित निर्वाचिन हुनुभएका एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यलाई रानाले यस पटक एक हजार ५१७ मतले पछि पार्दै जित हासिल गरेको हो ।
रानाले १८ हजार ३३६ मत ल्याउँदै गर्दा निकटतम प्रतिद्वन्द्वी आचार्यले १६ हजार ८१९ मत प्राप्त गर्नुभएको छ । पुराना दलको बलियो सङ्गठन भएको मान्दै आए पनि देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित निकाल्दै गर्दा पाल्पा–१ मा रास्वपाका उम्मेदवार विमल पन्तले १४ हजार ३३३ सहित सम्मानजनक मत प्राप्त गर्नुभएको छ । पाल्पा १ मा चार स्वतन्त्रसहित १३ जनाको प्रतिस्पर्धा रहेको थियो । खसेको कुल मत ५४ हजार २१६ मध्ये ५१ हजार ८२४ मत सदर भएको निर्वाचन अधिकृत दशरथ पङ्गेनीले जानकारी दिनुभयो ।
२०४८ मा कांग्रेसबाट कालुराम राना विजयी हुनुभएको थियो । त्यस पश्चात क्षेत्रमा कांग्रेसले जित निकालेको यो नै पहिलो जित हो । २०५१ को मध्यावधिक निर्वाचनमा एमालेबाट दलबहादुर रानाले जित्नुभएको थियो । ०५६ मा उहाँ मालेबाट उम्मेदवार बन्दै गर्दा एमालेबाट भद्र बहादुर थापा विजयी हुनुभएको थियो ।
२०५१ पछि भएका सबै निर्वाचनमा क्षेत्र नं. १ मा एमालेले जित्दै आएको थियो । २०६४ को संविधान सभा निर्वाचनमा पुनः दलबहादुर रानाले एमालेबाट विजयी हुनुभएको थियो । २०७० को संविधान सभा निर्वाचनमा एमालेबाटै राधाकृष्ण कंडेल निर्वाचित हुनुभयो । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पुनः राना तेस्रो पटक निर्वाचित हुनुभयो भने २०७४ को प्रदेश सभा निर्वाचनमा क्षेत्र नं. १ प्रदेश ‘ख’ बाट निर्वाचित आचार्य २०७९ को प्रतिनिधि सभा निर्वाचनमा ३१ हजार १०३ मतसहित विजयी हुनुभएको थियो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत प्राप्त गर्नु भएको थियो ।
को हुन् सन्दीप ?
२०४४ सालमा रामपुर नगरपालिका–४, गिजिनडाँडामा जन्मिनु भएका रानाले विद्यालय तह देखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभएको थियो । नेवि सङ्घ पाल्पाको जिल्ला कार्यसमितिबाट राजनितिमा सक्रिय राना नेपाली कांग्रेसको महासमिति सदस्य र लुम्बिनी प्रदेश सदस्यसमेत हुनुहुन्छ । विद्यालय तहको अध्ययन पश्चात उहाँले उच्चशिक्षा दिल्ली विश्वविद्यालयबाट हासिल गर्नुभएको हो । राजनीति शास्त्रमा स्नातक गर्नुभएका राना कानुनको विद्यार्थी समेत हुनुहुन्छ । भारतमा अध्ययनको क्रममा नेपाल विद्यार्थी सङ्घ भारतको सभापति, विश्व विद्यार्थी युवा सङ्घको अन्तर्राष्ट्रिय सचिव, अन्तर्राष्ट्रिय वि.पि. चिन्तन प्रतिष्ठानको अध्यक्ष भएर जिम्मेवारी निर्वाह गर्नुभएको अनुभव रानासँग छ ।
नेपाली भाषा, संस्कृतिको संरक्षण र प्रवर्धन, शिक्षा क्षेत्रको उत्थानमा सक्रिय राना, विभिन्न सामाजिक कार्यमा समेत सक्रियता साथ लाग्दै आउनुभएको छ । २०७२ को विनाशकारी भूकम्प, कोरोना महामारीको समयमा रानाले दिनुभएको योगदान यहाँका स्थानीय खुलेर प्रशंसा गर्ने गर्दछन् । शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन तथा खेलकुद क्षेत्रको विकाससँगै स्वरोजगार सृजना गर्न, स्थानिय, कला, संस्कृतिको जर्गेना तथा प्रवर्धनमा समेत उहाँ निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।
जेनजी युवाहरूको भावना अनुसार नेपाली कांग्रेस क्षेत्र नं. १ ले उहाँलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रूपमा एकल सिफारिस गरेको थियो । परिवर्तनको पक्षमा रहेका क्षेत्र नं. १ का जनताले यस पटक रानालाई विजयी बनाएको हो ।
निर्वाचित भएसँगै रानाले सम्पूर्ण मतदाताहरू प्रति आभार व्यक्त गर्दै रानाले यो जित आफ्नोभन्दा पनि लोकतन्त्रका लागि अग्रजहरूले गर्नुभएको लगानीको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मेरो जितभन्दा पनि लोकतन्त्रका लागि अग्रजहरूले गर्नुभएको लगानीको परिणाम हो । उहाँहरूले देख्नु भएको सपनाको साकार रूप हो ।”
रानाले पाल्पा क्षेत्र नं. १ भौगोलिक रूपमा चुनौतिपूर्ण भए पनि सम्भावनाले भरिपूर्ण रहेको बताउनुभयो । सम्भावनालाई विकासमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।