• २४ फागुन २०८२, आइतबार

सिरहा–४ बाट रास्वपाका तपेश्वर यादव निर्वाचित

blog

सिरहा–४ बाट निर्वाचित रास्वपा उम्मेदवार तपेश्वर यादव। तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, फागुन २४ गते।
सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादव निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार अजयशंकर नायकलाई २८ हजार २३८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो।

निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार निर्वाचित यादवले ३८ हजार २१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नायकले ७ हजार ९७२ मत प्राप्त गर्नुभएको छ।

यस क्षेत्रबाट निर्वाचित यादवले पूर्वमन्त्रीहरू अजयशंकर नायक, डा. वीरेन्द्रप्रसाद महतो, राजकिशोर यादव, धर्मनाथप्रसाद साह र विसेन्द्र पासवानसँगको प्रतिस्पर्धामा विजय हासिल गर्नुभएको हो।

विजयी भएको प्रमाणपत्र ग्रहण गर्दै यादवले भन्नुभयो, “गरिएका प्रतिबद्धता पूरा गर्नेछु। अब कामले बोल्छ, मुखले धेरै कुरा गरेर केही हुँदैन।”

यता सिरहा निर्वाचन क्षेत्र नम्बर १ र ३ को मतगणना अन्तिम चरणमा पुगेको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो। उहाँका अनुसार ती दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरू क्रमशः बब्लु गुप्ता र शम्भु कुमार यादवले फराकिलो अग्रता कायम गरेका छन्।