• ८ मंसिर २०८१, शनिबार

पर्यटनबाट आर्थिक समृद्धि

blog

नेपाल प्राकृतिक रूपले अनुपम र अद्वितीय सौन्दर्यले भरिपूर्ण देश हो । समुद्र सतहबाट ६० मिटरको उचाइदेखि ८,८४८।८६ मिटरको उचाइमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाले नेपालको भौगोलिक विविधतालाई इङ्गित गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वको दुर्लभ देश नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधतामा समेत समृद्ध रहेको छ । 

यहाँ प्रत्येक दिनजसो कुनै न कुनै चाडपर्व, संस्कार र रीतिरिवाजका क्रियाकलापहरू चलि नै रहेका हुन्छन् । नेपालमा जातिगत तथा भाषिक विविधता छ । विश्वमा अस्तित्वमा रहेका देशमध्ये नेपाल भौगोलिक रूपमा मध्यम आकारको भए पनि यहाँ प्रायः विश्वका सबै ठाउँमा पाइने विशेषताहरू पाइन्छन् ।

नेपाल उत्तरतर्फ विशाल देश चीन र अन्य तीनतिरबाट अर्को विशाल देश भारतले घेरिएको मुलुक हो । ज्ञानबद्र्धक मनोरञ्जन हासिल गर्ने उद्देश्यले कुनै स्थानको प्राकृतिक, सामाजिक–सांस्कृतिक, ऐतिहासिक, धार्मिक, शैक्षिकलगायतका विविध विषयमा अध्ययन, अवलोकन तथा घुमफिर गर्न आउने मानिसलाई आवश्यक वस्तु, सेवा तथा सुविधाको व्यवस्था मिलाउने सेवामूलक व्यावसायिक क्रियकलाप पर्यटन हो । 

विश्वका ठूला उद्योगमध्ये पर्ने पर्यटन उद्योग नेपालको आर्थिक विकासलगायत देशको समग्र विकास र समृद्धिमा उच्च सम्भावना बोकेको र तुलनात्मक लाभको क्षेत्रसमेत रहेको छ । अद्वितीय प्राकृतिक सुन्दरता, महìवपूर्ण धार्मिक पर्यटकीय स्थल, मौलिक सामाजिक सांस्कृतिक चालचलन, रीतिरिवाज, ऐतिहासिक एवं पुराताìिवक सम्पदा नेपालको पर्यटन क्षेत्रमा उच्च सम्भावना बोकेका क्षेत्रहरू हुन् । विश्वको सर्वाेच्च शिखर सगरमाथासहित विश्वमा रहेका सबैभन्दा अग्ला १४ वटा हिमालमध्ये १० वटा नेपालमै छन् । 

पूर्वदेखि पश्चिमसम्म उत्तरतर्फ हिउँले ढाकिएका मोतिजस्ता हिमशृङ्खलाहरू, अन्नपूर्ण, सगरमाथा क्षेत्रजस्ता विश्वकै उत्कृष्ट पदमार्गहरू, रारा, फोक्सुन्डो, तिलिचो, फेवा, गोसाइकुण्डजस्ता सुन्दर मनोरम तालहरू, हिमालको काखमा फूलै फूलले सिँगारिएका फिँजारिएका सुन्दर बगैँचाहरू, हिन्दु धर्मको आस्थाको केन्द्र पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, मनकामना, सुपादेउरालीका साथै स्वयम्भू, चाँगुनारायणजस्ता पवित्र धार्मिकस्थल यहाँको परिचय नै बनेको छ ।

यसका साथै प्याराग्लाइडिङ, बन्जी जम्प, रक क्लाइम्बिङ, अल्ट्रालाइट, जिप फ्लायर्स, जङ्गल सफारी, स्काइ ड्राईभिङजस्ता शाहसिक पर्यटन, तराईका फाँट तथा घना जङ्गललगायतका विभिन्न महìवपूर्ण पर्यटकीय स्थलका साथै अतिथिहरूलाई सत्कार गर्ने नेपाली सुसंस्कारले नेपालमा पर्यटन क्षेत्रको विविधीकरणबाट समग्र पर्यटन क्षेत्रको विकासमार्फत मुलुकको विकास र समृद्धिको सम्भावनालाई स्पष्ट रूपमा उजागर गरेका छन् । 

असीमित पर्यटकीय सम्भावनाले भरिपूर्ण थुप्रै ठाउँ भए पनि नेपालको पर्यटन क्षेत्रको अपेक्षित विकास हुन नसकेको तितो यथार्थ हाम्रोसामु छ । पर्यटकीय वस्तु, सेवा र सुविधालाई गुणस्तरीय, भरपर्दो, सुरक्षित, मनोरञ्जनात्मक र आकर्षक बनाउनुका साथै प्रर्याप्त प्रचार प्रसार गर्न नसक्दा विश्व पर्यटन बजारमा नेपाल प्रमुख आकर्षक पर्यटकीय गन्तव्य स्थलको रूपमा स्थापित हुन सकेको छैन । पर्यटन उपजको अपेक्षित विकास र पर्यटन क्षेत्रमा विविधीकरण गर्न नसक्दा सिङ्गो पर्यटनको विकासमा नै असर पुगेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थलसम्मको सुरक्षित हवाई तथा सडक यातायात, पर्यटकीय स्थलसमेतको सुरक्षा, मर्यादित र विश्वसनीय पथ पदर्शक, पर्यटकीय स्थलहरूको सरसफाइ र सौन्दर्यता कायम गर्न नसक्नु र समग्र पर्यटन पूर्वाधारको कमी हुनु नेपालको पर्यटन क्षेत्रका प्रमुख समस्याहरू हुन् । 

नेपालको पर्यटनलाई बहुआयामिक क्षेत्रसँग आबद्ध गरी यसको विविधीकरण मार्फत विकास गर्नु वर्तमानको आवश्यकता हो । यस्तो विविधीकरण प्राकृतिक सुन्दरता, जैविक विविधता, ऐतिहासिक स्थानहरूमा त गर्न सकिन्छ नै खेलकुद, कृषि, शैक्षिक क्षेत्रलगायतमा समेत गर्न सकिन्छ । नेपालको पर्यटनलाई खेलकुदसँग आबद्ध गरी थुप्रै पर्यटक भित्र्याउन  सकिने प्रशस्त सम्भावना छ । नेपालको विभिन्न ठाउँमा रहेका हिमालको काखमा अवस्थित खेलकुद 

रङ्गशालाहरूलाई थप व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरको बनाई ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता गराउन सकेमा विश्वका खेलप्रेमी पर्यटकको आगमन वृद्धि हुन जान्छ । उदाहरणको रूपमा पोखराको अन्नपूर्ण रङ्गशालालाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरको बनाई फुटबलका विश्व हस्ती देशहरूको खेल खेलाउन सके माछापुच्छ«े हिमालको काखमा बसेर फुटबलले जाली चुमेको आफ्नो नाङ्गो आँखाले हेर्न कुन फुटबल प्रेमी लालायित नहोला ? 

नेपालमा पर्यटन क्षेत्रमा आबद्ध गर्न सकिने अर्को महत्त्वपूर्ण क्षेत्र कृषि पर्यटन हो । कृषि पेसालाई पर्यटनसँग आबद्ध गरी कृषि पेसाको विकासमार्फत पर्यटकीय गन्तव्य स्थापित गरी गरिने व्यावसायिक क्रियाकलाप हो । नेपाल कृषिप्रधान देश भएकोले यहाँ कृषि पर्यटनको उच्च सम्भावना छ । नेपालको उच्च हिमालको काखमा रहेका फाँटहरूमा पुष्प खेतीको माध्यमबाट त्यसलाई आकर्षक र मनोरम बनाउन सकेमा पर्यटनको विकाससँगै समग्र हिमाली क्षेत्रको समेत विकास हुन्छ ।

पहाडी क्षेत्रमा बहुमूल्य जडीबुटीहरूको खेती गरी त्यसलाई पर्यटनसँग आबद्ध गरी लाखौँ पर्यटक भित्र्याउन सकिन्छ । गुल्मीको कफी खेती, पाल्पा र अर्घाखाँचीका पकेट क्षेत्रमा हुने सुन्तला खेती, मुस्ताङ, हुम्ला र जुम्लालगायतका जिल्लामा हुने स्याउ खेती तथा तराईका फाँटमा हुने तोरी, धान, गहुँलगायतका विभिन्न बालीका साथै रूपन्देहीलगायतका क्षेत्रमा हुने माछापालनलाई थप व्यवस्थित गरी र आकर्षक बनाउन सकेमा एकातर्फ कृषि उपजको आपूर्तिमा आत्मनिर्भर बन्न सकिन्छ भने अर्कोतर्फ पर्यटकलाई आकर्षित गरी समग्र पर्यटन क्षेत्रको विकाससमेत गर्न सकिन्छ । 

नेपाल पर्यटकीय स्थलको रूपमा रहेको सुन्दर मुलुक भएको हुँदा पर्यटन क्षेत्रको विकास र विविधीकरणमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गरी समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ । पर्यटन क्षेत्रको विकासमार्फत देशभित्रै प्रर्याप्त रोजगारीको सिर्जना भई दक्ष र क्षमतावान नेपाली युवाशक्तिलाई विदेश पलायन हुनबाट रोकी त्यस्ता युवाशक्तिको क्षमताको उपयोग स्वदेशमै गर्न सकिन्छ । यसका लागि सरकारी तवरबाट तदारुकताका साथ आवश्यक नीति निर्माण गरी त्यसको अक्षरंश कार्यान्वयन गर्ने, गैरसरकारी एवं निजी क्षेत्रलाई सहजीकरण र पर्यटन पूर्वाधारको विकासमा समेत उत्प्रेरित गरी समग्र पर्यटन क्षेत्रको वातावरणलाई पर्यटनमैत्री बनाउनु पर्छ ।