निशा राई
धरान, फागुन २३ गते । सुनसरी निर्वाचन क्षेत्र नं. १ को पछिल्लो मतगणना अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ)ले अग्रता कायमै रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान उपमहानगरपालिकाको वडा नं. १ देखि ८ सम्मको मतगणना सकिँदासम्म अञ्जुलीमा माटो चुनाव चिह्न भएका राईले सात हजार ८१३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोमा तामाङ (सरिन)ले पाँच हजार ८ सय ७१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टी (तारा)का मनोज भट्टराईले एक हजार चार सय ७३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेस (रुख)का सुजेन्द्र गोले तामाङले एक सय ९३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेकपा एमाले (सूर्य)का टीकाराम लिम्बूले एक हजार दुई सय १४, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो)का उद्धव श्रेष्ठले चार सय २६ र उज्यालो नेपाल पार्टी (बिजुलीको चिम)का डम्बर लावतीले एक सय ६६ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म खसेको मतमध्ये १९ हजार ३३० मतगणना सकिएको सुनसरी–१ का सहायक निर्वाचन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिनुभयो । त्यसमध्ये १८ हजार तीन सय ३१ मत सदर भएको छ भने नौ सय ९९ मत बदर भएको उहाँले जानकारी दिनुभयो ।