शेरबहादुर सार्की
बाजुरा, फागुन २३ गते । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीको अग्रता कायम रहेको छ। गिरीले चार हजार ५७४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई पछ्याइरहनुभएका नेकपा (एमाले) का लालबहादुर थापाले तीन हजार २४५ मत प्राप्त गर्नुभएको छ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले दुई हजार ३३ मत प्राप्त गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रकाश शाहले ३७२, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर शाहीले ९५, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपककुमार डि।सी।ले ७७, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का भूपेन्द्र लुहारले ५१ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चार मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
बाजुरामा कुल ४६ हजार २३२ मत खसेको छ। यसमध्ये पुरुष २१ हजार ८५७ र महिला २४ हजार ३७५ जनाले मतदान गरेका छन्। कुल ५२ दशमलव ६३ प्रतिशत मत खसेको छ।
बाजुरामा नौ वटा पालिका छन्। हालसम्म दुई पालिकाको मात्र मतगणना सम्पन्न भएको छ भने थप तीन गाउँपालिका र चार नगरपालिकाको मतगणना जारी रहेको छ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरामा कुल ८३ हजार ५६७ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ ६० हजार १५२ मत खसेको थियो। अर्थात् ६१ दशमलव ६३ प्रतिशत मतदान भएको थियो।
त्यस बेला नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे विजयी हुनुभएको थियो भने नेकपा (एमाले) का कर्णबहादुर थापा दोस्रो हुनुभएको थियो। पाण्डेले ३१ हजार ७८९ मत प्राप्त गर्नुभएको थियो भने थापाले २६ हजार २४८ मत प्राप्त गर्नुभएको थियो।