• २३ फागुन २०८२, शनिबार

काभ्रेपलाञ्चोक–२ मा रास्वपाका उम्मेदवार २८ हजार मतले अगााडि

blog

केदार तिमल्सिना
बनेपा, फागुन २३ गते ।
प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको मत गणनाको काम तीव्र गतिमा भइरहेको छ । मतगणनाको कार्य भइरहँदा काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अन्य उम्मेदवारसँगको मतान्तर बढाउँदै लैजानुभएको छ । हालसम्मको मत परिणाम अनुसार रास्वपका उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवारबिचको मतान्तर २८ हजारले बढी देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म क्षेत्र नम्बर–२ को ६९ हजार छ सय मत गणना सम्पन्न भएको छ । हालसम्मको मत परिणाम अनुसार रास्वपाका उम्मेदवार बदनकुमार भण्डारीले ३८ हजार ५१८ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले दस हजार ४८० मत पाउनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जु श्रेष्ठले नौ हजार १०९ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बसुन्धरा हुमागाईंले चार हजार ३४७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रञ्जिव श्रेष्ठले ९०९ मत, उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैजुले दुई हजार २४५ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर–२ मा हालसम्म कुल खसेको मतमध्ये ६६ हजार ४७९ मत सदर भएको छ भने तीन हजार १२१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर–१ का अनुसार हालसम्म यो क्षेत्रमा नेकपाका उम्मेदवारले आफ्नो अग्रता कायमै राख्नु भएको जनाएको छ ।

हालसम्मको मत परिणाम अनुसार यो क्षेत्रमा नेकपा उम्मेदवार दिनानाथ गौतमले नौ हजार ३६७ मत, नेपाली कांग्र्रेसका उम्मेदवार गुणराज मुक्तानले सात हजार ५२६ मत, नेकपा एमालेका उम्मेदवार अमि(अमित) लामाले पाँच हजार ५६४ मत प्राप्त गर्नु भएको छ । यो क्षेत्रमा रास्वपाका उम्मेदवार मधुकुमार चौलागाँईले पाँच हजार १११ मत, उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेन्द्र लामाले एक हजार ७९९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा ५६ दशमलव ५७ प्रतिशत अर्थात् कुल ९१ हजार १२८ मत र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा ६४दशमलव १७ प्रतिशत अर्थात् एक लाख छ हजार २१३ मत गरी जिल्लामा कुल ६० दशमलव ४२ प्रतिशत अर्थात् एक लाख ९७ हजार ३४१ मत खसेको थियो ।