अमरराज नहर्की
तनहुँ, फागुन २२ गते । तनहुँको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले सुरुवाती अग्रता लिनुभएको छ । ऋषिङ गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडाको मतगणना सम्पन्न हुँदा रास्वपाका श्रीराम न्यौपाने अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिनुभएको हो ।
कुल ४ हजार २३६ मतगणना हुँदा न्यौपानेले १ हजार ९७९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान सांसद शङ्कर भण्डारीले १ हजार २३४ मतका साथ पछ्याइरहनुभएको छ । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार केदार सिग्देल ३१२ मतमा सीमित हुनुभएको छ ।
जिल्लामा कुल २ लाख ५४ हजार ३९७ मतदाता रहेकोमा यसपटकको निर्वाचनमा ५१.७४ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर २ मा पुराना दलहरूको प्रभावलाई चिर्दै रास्वपाले लिएको सुरुवाती अग्रतालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार तनहुँ क्षेत्र नम्बर २ मा महिला ६५ हजार ८०२ र पुरुष ६१ हजार ७१३ गरी एक लाख २७ हजार ५१५ मतदाता रहेका थिए । जिल्लामा कुल ५१.७४ प्रतिशत मत खसेको थियो ।