• २३ फागुन २०८२, शनिबार

सुनसरी-१ मा रास्वपाको अग्रता कायम

blog

निशा राई

धरान, फागुन २२ गते । सुनसरी–१ मा जारी प्रतिनिधिसभा सदस्यको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (शरिन) ले अग्रता कायम राख्नुभएको छ।

धरान उपमहानगरपालिका–१ को एक हजार ९ सय ६१ मत गणना गर्दा तामाङले एक हजार १५ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले ३ सय ३, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले २ सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव श्रेष्ठले १ सय ६२, नेपाल कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज) ले ९२ र नेकपा (एमाले) का टिकाराम लिम्बुले ६१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

धरान–१ मा गणना गरिएको एक हजार ९ सय ६१ मतमध्ये एक हजार ८ सय ८० मत सदर र ८१ मत बदर भएको छ।

सुनसरी–१ मा कुल ५८ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ८७ हजार ५७६ मत खसेको छ। यहाँ एक लाख ५० हजार २९३ मतदाता रहेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा ४१ मतदान स्थल र १६१ मतदान केन्द्र तोकिएका छन्। सुनसरी–१ अन्तर्गत धरानका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाका पाँच वडा र रामधुनी नगरपालिकाका दुई वडा पर्दछन्।