• २३ फागुन २०८२, शनिबार

सल्यानमा नेकपाको अग्रता, रास्वपा दोस्राे

blog

मतगणना स्थल, जिल्ला समन्वय समितिको हल, खलङ्गा, सल्यान । तस्बिर : शङ्कर केसी

शङ्कर केसी

सल्यान, फागुन २२ गते । सल्यानमा जारी मतगणनामा नेपाली सुरुवातदेखि नै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ल अग्रस्थानमा रहनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो विवरण अनुसार ५५९० मत गणना हुँदा मल्लले २१२१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई रास्वपाका ललितकुमार चन्दले ११२५ मतका साथ पछ्याइरहनुभएको छ । 

यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्टले ९१८ मत पाउनुभएको छ भने नेकपा एमालेका गुलाबजङ्ग शाहले ६८३ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर खड्काले ४०० मत प्राप्त गर्नुभएको छ । 

सल्यानमा बिहान ११ बजेपछि जिल्ला समन्वय समितिको हलमा मतगणना कार्य सुरु भएको थियो । 

हालसम्म गणना भएको मतमध्ये बदर मत २८७ रहेको छ । निर्वाचन कार्यालयको अद्यावधिक विवरण अनुसार जिल्लाका ११७ मतदान स्थलका २०५ मतदान केन्द्रबाट करिब ५१/५२ प्रतिशत मत खसेको थियो । जिल्लामा एक लाख ६२ हजार ४४९ स्थायी मतदाता मध्ये ८३ हजार ६९२ जनाले आफ्नो मताधिकार प्रयोग गरेका हुन्  । 

गत प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यानमा जम्मा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ८३ हजार ७४ मत खसेको थियो ।