किमाथाङ्का (सङ्खुवासभा), फागुन २२ गते । सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ ।
भौगोलिक रूपमा निकै विकट सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रका चारवटा मतदान केन्द्रका मतपेटिका आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो भने प्रतिकूल मौसमका कारण भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदामको मतपेटिका शनिबार बिहान ल्याइने भएको छ ।
जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिकाभित्रका चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो ।
हालसम्म जिल्लाका १६४ मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको प्रजिअ थपलियाले बताउनुभयो । भोलि बिहान सबै पालिकाको मतपेटिका आइसकेपछि सर्वदलीय बैठक गरेर मतगणना सुरु गरिने बताइएको छ ।
मत गणनाका जिल्ला समन्वय समितिको सभा हलमा मत गणना स्थल समेत तयार पारिसकिएको छ । गणना स्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ । रासस