इमान सिं राना
रामपुर (पाल्पा), फागुन २२ गते । पाल्पा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विमल पन्तको अग्रता कायमै रहेको छ । क्षेत्र नं. १ भित्रको ३७ वटा वडा मध्ये पाँच वटा वडाको मतगणनामा पन्तले एक हजार ३६९ मतको अग्रता कायम गर्नुभएको हो ।
तिनाउ गाउँपालिका–५, तानसेन नगरपालिका–८, माथागढी गाउँपालिका वडा २, ३ र ४ को ८१२८ मत गणना गर्दा पन्तले तीन हजार २६९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका नेपाली कांग्रेसका सन्दीप रानाले एक हजार ९ सय, नेकपा एमालेका नारायणप्रसाद आचार्यले एक हजार ७४८, नेपाली कम्युनिस्ट पार्टीका हुमबहादुर सुनारी मगरले २५५ प्राप्त गर्नुभएको छ । त्यस्तै नेसनल रिपब्लिक नेपालका थमन सिं रेश्मी मगरले ४५०, मङ्गोल नेसनल अर्गनाइजेसनका सलन चिदीले ८२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दशरथ पङ्गेनीले जानकारी दिनुभयो ।
अहिले माथागढी गाउँपालिका–५ र ६ को मतगणना जारी रहेको छ । क्षेत्र नं. १ मा १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । पाल्पा क्षेत्र नं. १ मा कुल मतदाता ९८ हजार ३८३ मध्ये ५१ हजार ८८१ मत खसेको थियो । मतगणना रामपुर नगरपालिकाको सभा हलमा भइरहेको छ ।