काठमाडौँ, फागुन २२ गते । देशैभर भएको प्रतिनिधि सभा निर्वाचन उत्साहजनक भए पनि अपेक्षा गरेभन्दा केही कम मत खसेको छ । २०७९ सालको निर्वाचनपछि तीन वर्षमा भएको निर्वाचनमा प्रारम्भिक चरणमा कुल ६० प्रतिशत मात्रै मत खसेको हो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण रूपमा निर्वाचन भए पनि प्रारम्भिक रूपमा करिब ६० प्रतिशत मत खसेको जानकारी दिनुभयो । विस्तृत रिपोर्ट आउन बाँकी भएकाले प्रारम्भिक रूपमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदातामध्ये ६० प्रतिशत मत खसेको उहाँले बताउनुभयो । आयोगका अनुसार २०१५ सालपछि २०५१, २०६४ र २०७९ सालमा कम मत खसेको थियो ।
निर्वाचन आयोगका पूर्वकार्यवाहक निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले हिमाली र पहाडी दुर्गम ठाउँमा चिसो र दुर्गमका कारण कम मत खसेको हुन सक्ने टिप्पणी गर्नुभयो । नागरिक शिक्षा र मतदाता शिक्षालाई अझै प्रभावकारी रूपमा घरदैलोसम्म पु¥याउन नसकेका कारण कम मत झरेको हुन सक्ने उहाँको बुझाइ छ । आममतदाता आफ्नो मताधिकारप्रति अझ बढी सचेत र जागरुक बन्न आवश्यक देखिएको उहाँको भनाइ छ ।
तर विश्वव्यापी रूपमा ४० देखि ६० प्रतिशत मत खस्नुलाई स्वाभाविक मानिने भएकाले यो निर्वाचनमा खसेको मतलाई अस्वाभाविक रूपमा लिनुनपर्ने बताउनुभयो । “यो निर्वाचन अत्यन्तै शान्तिपूर्ण रह्यो । विगतका निर्वाचनमा बहिस्कार विष्फोटन, हत्या, ठुला ठुला झडप हुन्थे । “कार्यकर्ता र उम्मेदवारबिच केही छिटपुट घटनाबाहेक अत्यन्तै शान्तिपूर्ण र आफैँमा ऐतिहासिक उदाहरण भयो,” उहाँले भन्नुभयो, “केही प्राविधिक र व्यावहारिक कारण कम मत खसेको हुन सक्छ । हिमाली भेगका मानिस चिसोका कारण तल झरेका थिए । फर्कने समय भएन । कम मत खसेको हुन सक्छ ।” राजनीतिक दलबिचको स्वस्थ प्रतिस्पर्धाका साथै सरकार, सुरक्षा निकाय, निर्वाचन आयोगको संयुक्त पहलमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँको भनाइ छ ।
कुन निर्वाचनमा कति मत
विसं २०१५ को आमनिर्वाचनमा कुल ८५ लाख ५० हजार मतदाता भएकामा ४४.३० प्रतिशत मात्रै मत खसेको आयोगको तथ्याङ्क छ । २०४८ सालको निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो भने २०५१ सालको मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत मात्रै मत खसेको हो । २०५६ सालको निर्वाचनमा ६५.७९ प्रतिशत मत खसे पनि तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधान सभा निर्वाचन २०६४ सालमा ६१.७० प्रतिशत मात्रै मतदान भएको थियो ।
दोस्रो संविधान सभा २०७० सालको निर्वाचनमा ७८.३४ प्रतिशत मतदान भएको थियो भने संविधान घोषणापछि पहिलो निर्वाचन २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६८.६७ मत मात्रै खस्यो । २०७९ सालको निर्वाचनमा कुल ६१.४१ प्रतिशत मात्रै मतदान भएको थियो ।
लोकतन्त्रप्रतिको प्रतिबद्धता अभिव्यक्त
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनमा मतदाताको सव्रिmय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नेपालीको प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएपछि बिहीबार आभार, सम्मान र बधाई ज्ञापन गर्दै उहाँले प्रतिनिधि सभा निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एक पटक बलियो रूपमा अभिव्यक्त भएको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति कांग्रेसका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गर्दछु ।”