हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन २० गते । मुस्ताङमा विहिबार हुने प्रतिनिधि सभा सदस्यका लागि जिल्लाभर मतदान केन्द्र तयार गरिएको छ । जिल्लाका पाँच स्थानीय तहमा ३९ मतदान केन्द्रमा खटिएका कर्मचारीले आवश्यक तयारी पूरा गरेका छन् ।
निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगायत आवश्यक सम्पूर्ण काम सकिएको छ । वारागुङ मूक्तिक्षेत्र गाउपालिका–५,साङ्तामा खटिनुभएका मतदान अधिकृत राजेश गुप्ताले मतदानको प्रक्रिया मात्रै बाँकी रहेको बताउनुभयो । मतदान अधिकृत गुप्ताले भन्नुभयो,‘‘अब मत हाल्न मात्रै बाँकी छ, सम्पूर्ण तयारी पूरा भएको छ ।’’
जिल्लाभर बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानस्थलमा खटिएका कर्मचारीसहित सुरक्षा निकायको कडा सुरक्षा रहेको छ । भौगोलिक विकटता, मौसमी जटिलताका कारण हुनसक्ने समस्यालाई मध्यनजर गरी थप तयारी समेत गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका सोह्र वटा र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाँच मतदान केन्द्रमा अक्सिजन सहित स्वास्थ्य उपकरणको व्यवस्था समेत गरिएको छ।
मतदान केन्द्र खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित कर्मचारीमा कुनै समस्या नदेखिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभयो ।निर्वाचन अधिकृत ज्ञवालीले भन्नुभयो, ‘‘सबै मतदान केन्द्रबाट तयारी पूरा भएको सूचना आएको छ, आपतकालिन आवश्यकता परेमा तत्काल सम्बोधन हुन्छ ।’’ जिल्लाको विकट तथा उच्च क्षेत्रमा अवस्थित मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा विभाजन गरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।
निर्वाचन आचारसंहिताअनुसार फागुन १८ गते राती १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म कुनै पनि प्रकारको प्रचार–प्रसार, सभा–जुलुस, नारा, सामाजिक सञ्जालमार्फत मत माग्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।
शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्न सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ । मौन अवधिले बाहिरी प्रचार र आर्थिक चलखेल गरेको भन्दै नेपाली कांग्रेस बाहेकका सातदल आन्दोलित भएका छन् भने नेकपा एमालेका उम्मेदवारले समेत आचारसंहित उल्लंघन गरेको भन्दै बिरोध भएको छ।
मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा एमालेबाट इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली,आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरूङ, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन उम्मेदवार रहनुभएको छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा कुल ११ हजार ३ सय २८ मतदाता छन् ।