प्रवीणकुमार शर्मा
रौतहट, फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मतदातालाई मतदानका लागि आकर्षित गर्न मतदान स्थलमा स्वागत ब्यानर झुन्ड्याइएको छ ।
मतदाता मैत्री बुथ बनाउने उद्देश्यले मतदान स्थलमा स्वागत ब्यानर झुन्ड्याइएको रौतहट निर्वाचन क्षेत्र नं. १ अन्तर्गत गौर–३ मा रहेको सिँचाइ सव डिभिजन कार्यालयमा रहेको मतदान केन्द्र (क) का मदतान अधिकृत तिलकुमारी ढकालले बताउनुभयो ।
बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि बुथ निर्माणको काम सम्पन्न भएको बताउनु हुँदै मतदान अधिकृत ढकालले महिला, पुरुषका लागि छुट्टाछुट्टै लाइन रहने बताउनुभयो ।
अशक्त मतदाता समेतलाई लाइनमा बस्नु नपर्ने उहाँको भनाइ रहेको छ निर्वाचन कर्मचारीले मतदानको दिन गर्नु पर्ने कार्यको जिम्मेवारी सुम्पिएको बताउनु हुँदै मतदान अधिकृत ढकालले मतदातालाई विनम्र भएर व्यवहार गर्न सबै निर्वाचन कर्मचारी, स्वयंसेवकलाई निर्देशन दिएको भन्नुभयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई सलाई, लाइटर, प्रज्वलनशील ठोस वा तरल पदार्थ, फोटो खिच्ने क्यामेरा, मोबाइल वा अन्य निषेधित वस्तुहरू नलिई प्रवेश गर्न उहाँले आग्रह गर्नुभयो ।
रौतहटमा २७७ मतदान स्थल रहेकोमा १५२ वटा मतदान स्थल अति संवेदनशील ,सय वटा मतदान स्थल संवेदनशील र २५ वटा मतदान स्थल सामान्य रहेको छ ।
मतदान केन्द्र र स्थलको सुरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन हुने छन् ।पहिलो घेरामा निर्वाचन सुरक्षा प्रहरी, गुप्तचर, नेपाल प्रहरी खटिने छन् । त्यसभन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी बलको टोली खटिने छ । सबैभन्दा बाहिर नेपाली सेना परिचालन हुने छ ।