कोलोम्बो, फागुन २० गते । श्रीलङ्काले इरानी “फ्रिगेट आइरिस डेना” जहाजमा मा सवार ३२ जना चालक दलका सदस्यलाई घाइते अवस्थामा उद्धार गरेको विदेश मन्त्री विजिथा हेराथले बताउनुभएको छ ।
दुर्घटनाको कारण हालसम्म थाहा नभएको उल्लेख गर्दै हेराथले घाइतेलाई उपचारका लागि अस्पतालमा लगिएको जनाउनु भएको छ । यस अघि १८० जना चालक दलका सदस्यहरू सङ्कटमा परेको सुचना जारी गरिएको जनाइएको छ । श्रीलङ्काको रक्षा मन्त्रालयले टापुबाट करिब ४० किलोमिटर दक्षिणमा दुर्घटना ग्रस्त आइआरआइएस डेनाका अन्य चालक दलका सदस्यको खोजी गरिरहेको बताएको छ ।
अधिकारीलाई उदृत गर्दै एएफपीले खोजी कार्य जारी रहेता पनि बाँकी सदस्यको जिवित भेटिने सम्भावना न्युन रहेको जनाएको छ । उद्धार कार्यका लागि श्रीलङ्काली सेनाका दुइ वटा जहाज तैनाथ गरिएको हेराथले बताउनुभएको छ । श्रीलङ्काको समुद्री दायित्व अनुरूप उनीहरुको उद्धार गरी उपचारका लागि अस्पतालमा लगिएको सेनाकी प्रवक्ता बुद्धिका सम्पथले बताउनुभएको छ ।
हिन्द महासागरमा श्रीलङ्काको खोजी र उद्धार क्षेत्रभित्र रहेकाले अन्तर्राष्ट्रिय दायित्व अन्तर्गत सङ्कटको आह्वानलाई सम्बोधन गरेको सम्पथलाई उदृत गर्दै एएफपीले जनाएको छ । श्रीलङ्काको सेना र वायुसेना दुवैले उद्धारको फुटेज जारी नगरेको बताएका छन् भने घाइते इरानीलाई उपचारका लागि ल्याइएको कारण प्रहरीले गाले अस्पताल परिसरमा सुरक्षा निगरानी बढाएको जनाएको छ । रासस/एएफपी