राधाकृष्ण डुम्रे
वालिङ,(स्याङ्जा) फागुन २० गते । यति बेला सहरमा मात्रै होइन गाउँमा पनि चहलपहल बढेको छ ।
आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो मत दिनका लागि मतदाता आफ्नो गाउँ फर्किने क्रम बढेको हो ।
सुनसान हुँदै गएको गाउँगाउँमा यतिबेला चहलपहल बढेको छ । निर्वाचन गराउनका लागि कर्मचारी आवश्यक सामाग्री सहित मतदान केन्द्रमा पुगिसकेका छन् । जसको कारण गाउँमा छुट्टै चहलपहल बढेको छ ।
यो पटकको निर्वाचनमा युवापुस्ता धेरै उत्साहित देखिन्छन् । जेनजी आन्दोलनको कारण तोकिएको समय भन्दा अगाडि नै हुन लागेको यो चुनावले सहर भन्दा गाउँमा रौनक थपेको हो ।
झण्डै डेढ महिना सम्म भोट माग्न गाउँ पुगेका नेता तथा उम्मेदवारका कारण चहल पहल भएको थियो अब भने मतदाता भोट खसाल्न गाउँमा पुगेपछि चहलपहल हुन थालेको हो ।
लगातारको बिदा परेकाले आफ्नो काम छोट्याएर मतदाता गाउँ पुगी रहेका छन् । अर्का तर्फ रोजगारीको सिलसिलामा विदेशमा रहेकाहरू पनि भोट दिन कै लागि गाउँमा आएका छन् ।
विगत चार वर्ष देखि अमेरिकामा बस्दै आउनु भएका चापाकोट–८ का देवेन्द्रप्रसाद भट्टराई चुनावको अवसर पारेर गाउँ आउनुभएको छ ।
उहाँले भन्नुभयो,“केही समय पहिले नेपाल आउने योजना थियो तर चुनाव घोषणा भएकाले योजना परिवर्तन गरि चुनावको समय पारेर आएको हुँ ।”
अहिले विदेशबाट मतदान गर्न भनेरै धेरै युवा फिर्ता भएका छन् जसको कारण सहर भन्दा गाउँमा चहलपहल बढेको छ । दुई पदका लागि २४ प्रतिस्पर्धी दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ११ दलका २४ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं.१ र २ मा समान १२÷१२ जना उमेदवार प्रतिस्पर्धामा उत्रिएका हुन् । जसका कारण यतिबेला गाउँदेखि सहर सम्म चहलपहल भएको हो ।
चुनावी अभियानका कारण गाउँघरको व्यापार व्यवसाय समेत फस्टाएको छ । गाउँका उत्पादन दलका नेता तथा कार्यकर्ताको रोजाईमा पर्ने गरेका थिए ।सोमबार अबेरसम्म पनि गाउँगाउँमा चुनावी अभियान चलिरहेको थियो ।
जिल्लाभर रहेका १९९ मतदान स्थल अन्तर्गत ३२२ नियमित मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा सोमबार नै कर्मचारी पुगी सकेका स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।
यस पटक स्याङ्जा क्षेत्र नम्बर १ मा एक लाख ३० हजार ८८६ जना र क्षेत्र नम्बर २ मा एक लाख १७ हजार ९३० जना गरी दुई लाख ४८ हजार ८१६ मतदाता कायम भएका छन् ।