काठमाडौँ, फागुन २० गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले फागुन २० देखि फागुन २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने बताएको छ ।
महाशाखाले बुधबार जारी गरेको निर्वाचन विशेष मौसम बुलेटिनका अनुसार बुधबार कोशी, बागमती र गण्डकीको हिमाली तथा पहाडी भूभागको एक, दुई स्थानमा फाटफुट वर्षा र हिमपातको सम्भावना छ । यी तीनै प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा छ ।
फागुन २१ गते बिहीबार कोशी, मधेश र गण्डकी प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । उक्त दिन कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ ।
फागुन २२ गते शुक्रबार मधेश प्रदेश बाहेक ६ वटा प्रदेशको हिमाली तथा पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ । मधेश प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
