बोमलाल गिरी
नवलपुर, फागुन १९ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका कर्मचारी मतदानस्थल निर्माण र व्यवस्थापनमा जुटेका छन् । सोमबार नियुक्तिपत्र र निर्वाचन सामग्रीसहित केन्द्रमा पुगेका कर्मचारी मंगलबार बिहानैदेखि कार्यस्थल व्यवस्थापनमा व्यस्त भएका हुन् ।
नवलपुरका सबै मतदान केन्द्रमा सोमबार नै निर्वाचन सामग्री र सुरक्षाकर्मीसहित कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो । कावासोतीस्थित शिव माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नारायण तिमिल्सिनाले बिहानै सर्वदलीय बैठक सम्पन्न गरी बुथ निर्माण सुरु गरिएको बताउनुभयो । भोलि बेलुकासम्म सबै तयारी सकेर मुचुल्कासहितको सूचना टाँस गरिने उहाँको भनाइ छ ।
सर्वदलीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै दलले प्रतिबद्धता जनाएका छन् । निर्वाचन सफल बनाउन जिल्लामा एक हजार ८६९ कर्मचारी खटिएका छन् भने २५६ जना कर्मचारी जगेडामा राखिएको छ । त्यस्तै, तीन हजारभन्दा बढी सशस्त्र, जनपथ र म्यादी प्रहरी तथा ५०० नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो ।
दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा क्षेत्र नं. १ का लागि ५८ र क्षेत्र नं. २ का लागि ५६ गरी ११४ मतदान स्थल र ३११ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी भुसालले बताउनुभयो । नवलपुर क्षेत्र नं. १ मा एक लाख ३७ हजार ८१ र क्षेत्र नं. २ मा एक लाख ३१ हजार ४४५ मतदाता रहेका छन् । जिल्लाका दुई सिटका लागि ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।