• १९ फागुन २०८२, मङ्गलबार

बागलुङमा तारजाली र सीसीटीभीसहितको मतगणनास्थल तयार

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङको जिल्ला समन्वय समितिको सभाहलमा निर्माण गरेको तारजाली सहितको मतगणनास्थल । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की

बागलुङ, फागुन १९ गते । बागलुङमा आसन्न निर्वाचनका लागि मतगणनास्थल तयार पारिएको छ । क्षेत्र नं. १ का लागि जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र क्षेत्र नं. २ का लागि ढोरपाटन नगरपालिका–२ बुर्तिबाङस्थित कुथाप्लोमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सभाहलमा मतगणनास्थल निर्माण गरिएको हो ।

जिल्लामा दुईवटा निर्वाचन क्षेत्र रहेकाले दुई छुट्टाछुट्टै स्थानमा मतगणनाको व्यवस्था मिलाइएको छ । मतगणनाका क्रममा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै तारजाली र सीसीटीभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत डा. सीता शर्मा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मतपेटिका राख्ने र मतगणना गर्ने कोठामा ध्वनिसहितको भिडियो रेकर्ड गर्ने गरी सीसीटीभी क्यामरा जडान गरिएको छ ।

मतगणनास्थलमा उम्मेदवार र तिनका प्रतिनिधिका लागि तारजालीभन्दा बाहिर बस्ने व्यवस्था मिलाइएको छ । सम्भावित असुरक्षा र धाँधली रोक्न यस्तो प्रविधि अपनाइएको हो । उम्मेदवारका प्रतिनिधिले फलामे तारजाली बाहिरैबाट मतगणनाको अवलोकन गर्नुपर्नेछ भने जालीभित्र मतगणक मात्र बस्न पाउने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।

यसैगरी, क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले बुर्तिबाङमा पनि तारजालीसहितको मतगणनास्थलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । मतदान सम्पन्न भएपछि सबै मतपेटिका संकलन गरी सर्वदलीय बैठक बसेर मात्र गणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

बागलुङमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेका छन् भने दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । जिल्लामा ९८ हजार ५७४ पुरुष, ९४ हजार ८०६ महिला र अन्य एक गरी कुल एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गराउन २३२ मतदान अधिकृत, २३२ सहायक मतदान अधिकृतसहित एक हजार ३८० जना कर्मचारी र सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिसकेका छन् । बागलुङका दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।